कूटनीति

अवैतनिक राजदूतहरुद्वारा निलो प्लेट माग

इकागज |
पुस २७, २०७८ मगलवार २०:२६ बजे

काठमाडौं - नेपालबाट विभिन्न देशका लागि चुनिएका अवैतनिक राजदूतहरुले निलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण आवतजावतमा आफूलाई समस्या पर्ने र निलो प्लेट नम्बरको सवारीसााधन भए केही सहज हुने भन्दै उनीहरुले यस्तो माग गरेका हुन् ।

पोल्याण्डका लागि अवैतनिक राजदूत लोकमान्य गोल्छाले कुनै एक व्यक्तिको भुलका कारण अन्यलाई कारबाही गर्न उचित नहुने भन्दै अवैतनिक राजदूतहरुलाई निलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन माग गरे । उनले सरकारले अवैतनिक राजदूतहरुलाई उपलब्ध गराएको निलो प्लेट नम्बरको सवारीसाधन नदिने सरकारको निर्णय व्यवहारिक नभएको गुनासो गरे ।


‘ब्लू नम्बर प्लेट प्रयोग गरिहरेका थियौँ । त्यो कुनै कारणवश कुनै एक जनाको भुल भयो कि, गल्ती भयो कि, त्रुटि भयो कि जे भए पनि त्यसले सबैलाई कारबाही गर्ने अलिकति व्यवहारिक भएन कि जस्तो हाम्रो बुझाइ,’ उनले भने, ‘सरकारको आफ्नो बुझाइ होला त्यो बेग्लै कुरा हो ।’

त्यस्तै माल्टाका लागि नेपाली अवैतनिक राजदूत दिनेश श्रेष्ठले नागरिक समाज वा कुनै एउटा समूहले इर्ष्या गरेर अवैतनिक राजदूतलाई सरकारले दिइरहेको निलो प्लेटको सवारीसाधनको सुविधा हटाउन नमिल्ने बताए । आफूहरुले राज्यको हित र इज्जतका लागि नै कम गरेकोले उक्त सुविधा खोस्न नमिल्ने उनको भनाइ थियो । यस विषयमा आफूहरुले परराष्ट्र मन्त्रालयलाई पुनः विचारका लागि आग्रह गरिरहेको र यस विषयमा मन्त्रालय पनि सकारात्मक देखिएको उनले बताए ।

‘अहिले नागरिक समाज वा कुनै एउटा समूहले राज्य हामीलाई दिएको थोरै सुविधाप्रति इर्ष्या जगाएको छ । कुनै व्यक्तिले गलत काम गर्दछ भनेर नै कानुन बन्ने हो । त्यो कानुनको गल्ती होइन, त्यो मान्छेको गल्ती हो,’ उनले भने, ‘जो मान्छेले गल्ती गर्‍यो, त्यो मान्छेलाई कानुन अनुसारको कारबाही गर्नुपर्ने हो । तर, हाम्रो यस विषयमा विमति कहाँ हो भने एक जना व्यक्तिले गल्ती गर्दा सबैलाई कारबाही गर्नु उचित होइन ।’ श्रेष्ठले अवैतनिक राजदूतलाई निलो नम्बर प्लेटको सवारीसाधन उपलब्ध गराउँदा उक्त देशले नै नेपालको इज्जत गर्ने बताए । उनले सरकारलाई आफूहरुले अवैतनिक रुपमा सहयोग गरिरहँदा सरकारले पनि आफूहरुलाई सहयोग गर्नुपर्ने बताए ।


Author

थप समाचार
x