कूटनीति

प्रधानमन्त्रीसँग अमेरिकी सहायक विदेशमन्त्री लु

अमेरिकासँग आर्थिक र प्राविधिक सहयोगको अपेक्षा गर्दै सरकार

सार्क, जलवायु परिवर्तन र कोभिड संकटबारे छलफल

चन्द्रशेखर अधिकारी |
मंसिर २, २०७८ बिहिवार १९:५२ बजे

काठमाडौँ - दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली केइडर्लीङ राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दै आफ्नो राजनीतिक भेटघाट अघि बढाएका हुन् । लु बुधबार साँझ नेपाल आएका हुन् भने केली बिहीबार बिहान ओर्लिएकी हुन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पर्यवेक्षकसमेत रहेको अमेरिकाले सार्क प्रक्रिया अघि बढाउनेदेखि दुईपक्षीय सम्बन्ध विस्तारमा जोड दिने हेतुले लु नेतृत्व टोलीलाई यस क्षेत्रको भ्रमण पठाएको हो । लु माल्दिभ्स पुगेर नेपाल आएका हुन् । यस क्षेत्रमा नेपाल अमेरिकाको पुरानो मित्र राष्ट्र पनि हो । यतिबेला नेपाल सार्क अध्यक्षसमेत छ ।


सार्क इतिहासमा नै नेपालले लामो समय अध्यक्षता गरिरहेको छ ।  ७ वर्षदेखि सार्कको अध्यक्षता नेपालले गरिरहेकाे हाे । पाकिस्तानमा हुने भनिएको सार्क शिखर सम्मेलन स्थागित भएपछि नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन । यही अवस्थामा भएको भेटघाटमा नेपाल र अमेरिकाबीच रहेको सम्बन्ध र सहयोग आदन- प्रदानको विषयमा लामो छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

द्विपक्षीय सहयोग, विकास निर्माण, कोभिड-१९ र त्यसपछिको अवस्था, स्वास्थ्य सामग्री एवम् खोप सहयोग, जलवायु परिवर्तनको असर, सुरक्षा, विपद्  व्यवस्थापनलगायत सबैजसो विषयमा लामो छलफल भएको थियो । प्रधानमन्त्री देउवा हसिलो मुद्रामा अमेरिकी अधिकारीसँग प्रस्तुत भएको र समग्र विषयमा छलफल भएको सहभागीले जानकारी दिए । 

नेपाल सार्ककाे महत्त्वपूर्ण बिन्दुमा रहेको र नेपालले नै यस क्षेत्रमा सहकार्यकाे भूमिका निर्वाह गर्दै सार्कलाई अघि बढाउनेदेखि मुलुकको विकास सक्रिय हुन आवश्यक रहेकाेबारे छलफल भएकाे छ । नेपाल–अमेरिका सम्बन्ध, कार्यान्वयन अघि बढ्न नसकेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्झौताबारे छलफल भएको सहभागीले जानकारी दिए । 

सहायकमन्त्री लुको भ्रमणका दौरान दुई मुलुकबीचको विकास साझेदारी, सहयोगलगायत विषयमा पनि छलफल भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए । कोभिड-१९ र यसपछिको विश्वकोबारेमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘भ्याक्सिनका विषयमा पनि छलफल भएको थियो । पोष्ट कोभिड इकोनमीको विषयमा छलफल भयो ।’ 

प्रधानमन्त्री देउवाले ग्रिन क्लिन विकास गर्ने उद्देश्यले कोप- २६ मा गरेको प्रतिवद्धता कार्यावन्यन गर्ने विषयमा अमेरिकी सहयोगका लागि आर्थिक र प्राविधिक सहयोग अमेरिकासँग माग गरेको पनि सचिव पौड्यालले बताए । उनका अनुसार अमेरिका पनि नेपालको विकासका लागि आवश्यक सहयोग गर्न तयार छ । 

नेपालमा अमेरिकाले दिएको सहयोग नै उपयोगमा आउन नसकेको अवस्थामा नयाँ सहयोग माग भएको हो । अमेरिकाले उपलब्ध गराएको सहयोग नेपाल सरकारले चार वर्षदेखि उपयोगमा ल्याउन सकेको छैन । अमेरिकी सहयोगलाई राजनीतिक वार्गेनिङको विषय बनाएको अवस्थामा देउवाले अमेरिकासँग विकासका लागि थप सहयोग मागेका हुन् । संसदबाट एमसीसी पारित गराउन नसकेर चार वर्षदेखि सहयोग अघि बढ्ने या नबढ्ने अन्यौल छ ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपालको भ्रमण नै गरेर सम्झौता कार्यावन्यन गर्न ढिलाइ गरे सहयोगको माग गरेका अन्य धेरै मुलुक विश्वमा रहको जानकारी दिएर गएकी थिइन् । एमसीसी मुख्यालयले पटक-पटक सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइलाई लिएर चासो व्यक्त गर्दै आएको छ । 

माल्दिभ्स पुगेर आएका लुले माल्दिभ्स सामुन्द्रिक मुलुक हो भने नेपाल हिमालयको काखमा रहेकाे उल्लेख गरे । जलवायु परिवर्तनको असरबारे सन्देश दिन पनि उनले माल्दिभ्स र नेपालको भ्रमण गरेको हुनसक्ने भनिरहेको अवस्थामा जलवायु परिवर्तनमा नेपालले लिड रोल खेल्न सक्नेसमेत बताएका छन् ।

लु तीन दिन माल्दिभ्स बसेर नेपाल आएका हुन् । उनले नेपालमा रहँदा उनीहरूले अन्य भेटघाट पनि गर्नेछन् । बुधबार नेपाल आएका उनले बिहीबार बिहान आफ्ना मित्रहरू दूतावासका अधिकारीसँग नेपालमा भइरहेको गतिविधिबारे जानकारी लिएका थिए । 

आफ्ना कर्मचारीहरूलाई केही निर्देशनसमेत दिएका छन् । उनले नेपाल-अमेरिका सम्बन्धबारे उनले आफ्नो धारणा राखेका छन् ।  टोलीले रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, परराष्ट्र मन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग भेटवार्ता गर्नेछ । यसका साथै टोलीले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने र पत्रकारसँग अन्तरक्रिया गरेर फर्कने छन् । 

प्रमुख कार्यवाहक सहायक विदेशमन्त्री एलिस वेल्सले २०१८ अगस्तमा भ्रमण गरेपछि नेपाल आउने मन्त्री लु अमेरिकाका सबैभन्दा माथिल्लो तहका पदाधिकारी हुन् । हुन त अमेरिका बाट सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेल आएका थिए । त्यसयता अमेरिकाबाट त्यो तहको भ्रमण नै हुन सकेको छैन । नेपाललाई पहिलेदेखि नै अमेरिकाले यस क्षेत्रमा महत्त्व दिएको र सम्बन्ध विस्तार गरेर अघि बढेको छ ।

भेटमा नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी पनि सहभागी थिए । छलफलमा सहभागितापछि ट्वीट गर्दै उनले जलवायु परिवर्तन र नेपाल-अमेरिकाबीच द्विपक्षीय हित र चासोका विषयमा सहकार्य हुने उल्लेख गरेका छन् । नेपालमा रहको अमेरिकी दूतावास यस क्षेत्रकै ठूलो हो । यसबाट पनि नेपाल र अमेरिकाको सम्बन्ध एवम् सहकार्य आकलन गर्न सकिन्छ । उपसहायकमन्त्री किडरलिङले पनि आफ्नो तीनदिने भ्रमणका दौरान नेपाली अधिकारी र नागरिक समाजका उदीयमान अगुवासँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x