कूटनीति

देउवा-मोदी छलफल

तिहारलगत्तै मोदी नेपाल आउने

मोदीको नेपाल भ्रमणपछि देउवालाई दिल्लीले रातो कार्पेट ओछ्याउने

चन्द्रशेखर अधिकारी |
कात्तिक १६, २०७८ मंगलबार १६:७ बजे

काठमाडौँ -  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिहारलगत्तै नेपाल भ्रमण गर्ने भएका छन् । नेपालमा भारतबीच सम्बन्ध सुदृढ  हुन नसकेको भनिरहकै समयमा मोदीको नेपाल भ्रमण हुन लागेको हो । यो समाचार तयार पार्दा प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच ग्लास्गोमा भेटवार्ता जारी छ ।

उक्त भेटमा नै तिथि तय गर्ने वा परराष्ट्र मन्त्रालयमार्फत भ्रमणको तिथि तय गर्न लागेको परराष्ट्र उच्चस्रोतले बतायो । प्रधानमन्त्री देउवाले भारतसँग लगातार सम्बन्ध विस्तार गर्न पहल गरेको र आफ्नो पहिलो भ्रमण भारतबाटै गर्ने बताए पनि त्यसो हुन नसकेपछि देउवा बेलायत भ्रमणमा गएका थिए । 


नेपाल र भारतबीचको सबै प्रकारको समस्या समाधान, नेपालको राजनीतिक अवस्था, दुईपक्षीय सहकार्य, सार्क शिखर सम्मेलनलगायतका विषयमा छलफल गरेका छन् । त्यस्तै उनको भारत भ्रमणबारेमा पनि छलफल भएको एक अधिकारीले जानकारी दिए । मोदी सकेसम्म तिहारलगत्तै नेपाल आउने गरी कार्यतालिका तय गर्ने र त्यस लगत्तै देउवालाई नयाँ दिल्लीले रातो कार्पेट ओछ्याउने भएको छ । 

मोदीले देउवासँगको सोमबारको संक्षिप्त भेटलाई समेत ट्वीटरमा उल्लेख गर्दै सहकार्यमा जोड दिएका छन् । उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरबारे पनि त्यहाँ चिन्ता व्यक्त गरेका छन् । 

पछिल्लो पटक प्रधानमन्त्री भएपछि देउवाले आफ्नो विदेश भ्रमण बेलायतबाट अघि बढाएका हुन् । यद्यपि बेलायत भ्रमण देउवाको दुईपक्षीय भ्रमण भने होइन । ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२६) को आयोजनास्थलमा उनीहरुबीच सोमबार पनि भेटवार्ता भएको थियो । त्यो भेटवार्ता रिसेप्सनमा संक्षिप्त थियो ।

अहिले दुई प्रधानमन्त्रीबीच लामो वार्ता चलिरहेको त्यहाँ रहेको परराष्ट्र अधिकारीले जानकारी दिँदै भने, ‘यो वार्ताबाट मोदीको नेपाल भ्रमण निश्चित हुनेछ । यसबारेमा पहिलेदेखि छलफल भए पनि भ्रमण टुंगो लागेको थिएन ।’ मोदीले यसअघि चार पटक नेपाल भ्रमण गरिसकेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६)मा सहभागी विश्व नेताहरूको शिखर बैठकको क्रममा ग्लास्गोमा छन् । त्यहाँ रहँदा सबैले एक अर्का मित्र मुलुकका नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । देउवाले पनि त्यहाँ अधिक नेताहरूसँग भेटवार्ता जारी राखेका छन् । 

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले आधा दर्जन बढी नेताहरूसँग संक्षीप्त वार्ता गरेका थिए । आज पनि उनले वार्तालाई निरन्तरता दिएका छ । प्रधानमन्त्री देउवाले उच्चस्तरीय सत्र (हाइलेभल सेगमेन्ट) का बेला र रिसेप्सनमा अधिक अनौपचारिक भेटवार्ता गरेका हुन । उच्चस्तरीय सत्रलाई देउवाले सम्बोधन गरिसकेका छन् । 

देउवा र अमेरिकी राष्ट्रपति जो बाइडनबीच पनि संक्षीप्त भेट भएको थियो भने उनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग लामै छलफल गरे । त्यसका अलवा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग पनि दुईपक्षीय वार्ता गरे । त्यस्तै उनले अहिले केहीबेरमा श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षसँग दुईपक्षीय वार्ता गर्नेछन् । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x