कूटनीति

बिपीनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको विशेष आग्रह

इकागज |
साउन ३१, २०८१ बिहीबार २०:५० बजे

काठमाडौँ- गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले आज शिष्टाचार भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखक र राजदूत अन्सारी द्विपक्षीय हित र चासोबारे छलफल भएको थियो । भेटमा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरे । 


त्यसका साथै कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीको राहत र उद्धारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे । सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउने पर्नेमा मन्त्री लेखकले जोड दिए । 

त्यसैगरी राजदूत अन्सारीले बिपीन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । उनले कतारको विकासमा नेपालीले गरेको सहयोगको प्रशंसा गरे ।


Author

थप समाचार
x