कूटनीति

नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर

इकागज |
जेठ १८, २०८० बिहीबार १४:३२ बजे

काठमाडौँ- नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता र छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

दुई पक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही परियोजनाहरूको संयुक्त रूपमा बटन थिचेर उद्घाटन गरे । दुई देशबीच नेपाल भारत पारवहन सम्झौता नवीकरण गर्ने सम्झौता भएको छ, त्यस्तै सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पुर्याउने सहमति भएको छ भने चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने सहमति भएको छ ।


पत्रकार सम्मेलनका क्रममा भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास गरिएको छ भने नेपालगन्ज–रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट तथा बथनाहा–विराटनगर कार्गो रेलको उद्घाटन गरिएको छ । पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच भएको सम्झौताले सम्बन्ध थप प्रगाढ हुने बताए । उनले नेपाल भारतबीच ऊर्जामा सम्बन्धमा दीर्घकालीन सम्झौता भएको भन्दै नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरे ।

भारतीय प्रधानमन्त्री मोदीले दुईदेशीय सम्बन्ध हिमालय जतिकै उचाइ दिनका लागि काम गरिरहने भन्दै सीमा लगायत अन्य समस्याको समाधान खोज्ने जिकिर गरे ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्याहरूका बारे द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नका लागि अनुरोध गरेको बताए । उनले भारतीयसँग निकै महत्वपूर्ण सहमति भएको भन्दै यसले मुलुकको विकासका थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले दुई देशबीच नयाँ हवाई रुटका बारेमा सकारात्मक छलफल भएको जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिए ।

त्यसअघि बिहीबार नै प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधि स्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्पहार अर्पण गरेका थिए । प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमण सम्पन्न गरेर जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।


Author

थप समाचार
x