कूटनीति

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै

इकागज |
माघ १६, २०७९ सोमबार २२:३ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलंकाको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । उनी श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरका कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा सहभागी हुन त्यसतर्फ जान लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।


श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेले यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन् ।  

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछन् । उनले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीलगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।

मन्त्री डा पौड्याल बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछन् । शुक्रबार विभिन्न ‘साइडलाइन मिटिङ’हरू हुने र शनिबार मुख्य समारोहमा सहभागी हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ । भ्रमण सम्पन्न गरी उनी आइतबार नेपाल फर्कंने कार्यक्रम छ ।


Author

थप समाचार
x