क्रिकेट

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

इकागज |
माघ ५, २०७८ बुधवार १३:४६ बजे

काठमाडौँ- एपीएफले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै बुधबार प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनलमा टस हारेर ब्याटिङ गरेको एपीएफले १९.५ ओभरमा १५७ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको पुलिस भने १३६÷७ मा सीमित भयो । 

ब्याटिङमा एपीएफको सुरुवात कमजोर रह्यो । उसका ओपनरद्वय प्रदीप ऐरी र आशिफ शेखले पहिलो विकेटमा लागि १२ रनको मात्रै साझेदारी गर्नसके । प्रदीप सात रनमा आउट भएका थिए भने आशिफको नाममा नौ रन रह्यो । तेस्रो नम्बरमा ब्याटिङ गरेका लोकेश बमले २७ रन जोड्दा तल्लोक्रममा अमर रौतेलाले १५ बलमा २९ रन बनाए । यसैगरी सन्दिप जोराले २४, कप्तान शरद भेस्वाकरले १९ र भुवन कार्कीले १७ रनको योगदान गरे । 


पुलिसका लागि दुई सागर ढकाल र दीपेन्द्र सिंह एरीले तीन–तीन विकेट लिए । यसैगरी गुल्शन झाको नाममा दुई विकेट रह्यो भने आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक–एक विकेट हात पारे । 

पुलिसको ओपनिङ एपीएफको भन्दा कमजोर रहेको थियो । उसले ओपनरद्वय पवन शराफ र अमित श्रेष्ठलाई क्रमशः शून्य र तीन रनमा गुमाएको थियो । दीपेन्द्रले अर्धशतक बनाएर पुलिसको इनिङ सम्हाल्ने प्रयास गरे । उनले ५४ बल सामना गर्दा ६५ रन बनाएका थिए । पुलिसका लागि दिलिप नाथले २३ रनको योगदान गरेका थिए।  

तर यी दुईबाहेक कुनैपनि ब्याट्सम्यानले पुलिसका लागि उल्लेख्य प्रदर्शन गर्न सकेनन् । उदाहरणका लागि अनिल साहले जम्मा १० रन जोड्न सके । त्यसैगरी आरिफको खातामा १२ रन रह्यो । बलिङतर्फ एपीएफका लागि किशोर महतोले १७ रन खर्चिएर तीन विकेट हात पारे । उनीबाहेक विकेट लिने अन्य खेलाडीमा अमर रौटेला, अविनाश बोहोरा र दीपक बोहोरा थिए । 
 
 
 


Author

थप समाचार
x