क्रिकेट

विश्वकप छनोट तयारीका लागि सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने

इकागज |
जेठ २१, २०८० आइतवार १४:३ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भोलि अर्थात सोमबार दक्षिण अफ्रिका जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई सोमबार दक्षिण अफ्रिका पठाउने तयारी भएको इकागजलाई बताए ।

‘सन्दीप दक्षिण अफ्रिका जाने निश्चित भएको छ । सन्दीपलाई भोलि (सोमबार) दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेका छौ,’ पाठकले बताए । आज आइतबार सन्दीपलाई दक्षिण अफ्रिका पठाउन सम्भव नभएका कारण सोमबार पठाउने तयारी गरिरहेको उनले थपे ।


सन्दीपमाथि लागेको नाबालिग बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतले असार २९ गतेका लागि अर्को पेशी तोकेका कारण उनी नेपाली टिममा सामेल हुन दक्षिण अफ्रिका जाने भएका हुन् ।

‘सन्दीपले दक्षिण अफ्रिकाको अभ्यासपछि जिम्बाब्वेमा हुने आईसीसी पुरुष विश्वकप छनोट पनि खेल्नेछन्,’ पाठकले बताए । उनले टिकट अहिलेसम्म सुनिश्चित भने नभएको थपे ।

विश्वकप छनोटको तयारीका लागि नेपाली टिम अहिले दक्षिण अफ्रिकामा रहेको छ । नेपालले दक्षिण अफ्रिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

दक्षिण अफ्रिकाबाट नेपाली टोली विश्वकप छनोटका लागि जिम्बाब्वे जाने तालिका रहेको छ । विश्वकप छनोटमा भने नेपाल समूह ‘ए’ मा रहेको छ ।

विश्वकप छनोटअघि पनि नेपालले यूएई र ओमानसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

विश्वकप छनोटमा भने नेपालले जिम्बाब्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । विश्वकप छनोटको अन्तिम खेल असार २४ मा रहेको छ । 

 


Author

थप समाचार
x