क्रिकेट

नेपालले खेलाउने विश्वकप छनोट र भारतमा हुने विश्वकप एकै समयमा, अब के हुन्छ ?

सञ्जीव शाह |
जेठ १, २०८० सोमबार ११:२२ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार आईसीसी टी-ट्वान्टी विश्वकपअन्तर्गतको एसिया क्षेत्रको छनोट चरण नेपालले आयोजना गर्दैछ । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपका लागि एसिया क्षेत्रको छनोट नेपालले यही नोभेम्बर १ देखि १० तारिखसम्म आयोजना गर्ने तयारी गरिरहेको छ । 

एसिया क्षेत्रको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ भने बाँकी दुई अर्को चरणको छनोट पार गरेर क्षेत्रीय छनोटमा आउनेछन् ।


तर नेपालले आयोजना गर्न लागेको एसिया क्षेत्रको छनोटको समय तथा भारतले २०२३ मै आयोजना गर्ने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको तालिका भने जुध्ने भएको छ । भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म एकदिवसीय विश्वकप आयोजना गर्ने तालिका रहेको छ । जबकि सोही समयमा नेपालले टी-ट्वान्टी विश्वकप छनोट आयोजना गर्ने तयारी छ ।

अर्कातर्फ भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि जिम्बाब्वेले छनोट प्रतियोगिता आयोजना गर्दैछ । जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बाब्वेमा आयोजना हुने छनोट प्रतियोगितमा नेपालसँगै ओमान र यूएईले पनि प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले आयोजना गर्ने टी-ट्वान्टी विश्वकपको एसिय क्षेत्रको छनोटमा भने नेपालसँगै ओमान र यूएई पनि छन् । तर यदि जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोटमा शीर्ष दुईमा रहेर नेपाल, ओमान र यूएईमध्ये एक टिममात्र पनि भारतमा आयोजना हुने विश्वकपका लागि छनोट भएको खण्डमा नेपालमा आयोजना हुने टी-ट्वान्टी छनोट गुमाउन सक्ने सम्भावना रहन्छ ।

तर क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने नेपाल, यूएई र ओमानमध्ये कुनै देश विश्वकपमा छनोट भए नेपालले आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि एसिया क्षेत्रको छनोट भने सारिने बताए ।

‘यस विषयमा आईसीसीसँग छलफल भइरहेको छ । र आईसीसीले दुवै प्रतियोगिता जुध्ने गरी समय पक्कै पनि राख्दैन । आईसीसीले नेपालको छनोट प्रतियोगिताको समय तलमाथि गर्छ । आईसीसीले नै समयको टुंगो लगाउने हो, यसमा कुनै समस्या हुँदैन,’ पाठकले इकागजलाई बताए ।

भारतले आयोजना गर्ने विश्वकपका लागि आयोजक भारतसँगै अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, न्यूजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिकाले स्थान सुरक्षित गरिसकेका छन् ।

त्यसैगरी, जिम्बाब्वेमा हुने विश्वकप छनोटबाट आयरल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेपाल, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिकामध्ये दुई टिमले भारतमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x