क्रिकेट

नेपालले ५१ ओडिआई खेल्दा चार कप्तान, काे कति सफल ?

सञ्जीव शाह |
बैशाख २६, २०८० मंगलबार १३:२१ बजे

काठमाडौँ- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले सन् २०१८ देखि हालसम्म ५१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल खेलिसकेको छ । ५१ वटा ओडिआई पूरा गर्दा नेपाली टिमले चार जना कप्तान पाएकाे हाे ।

नेपालका लागि पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने तथा रोहित पौडेलले ओडिआईमा कप्तानी गरिसकेका छन् । नेपालले सबैभन्दा धेरै २१ खेल रोहितको कप्तानीमा खेल्याे । त्यसैगरी, सन्दीपको कप्तानीमा १४, ज्ञानेन्द्रको कप्तानीमा १० तथा पारसको कप्तानीमा नेपालले ६ ओडिआई खेलेको छ ।


रोहितको कप्तानीमा सर्वाधिक २१ खेल खेल्दा नेपालले १५ खेलमा जित हात पारेको छ भने ५ खेलमा पराजय भोगेको छ । एक खेलमा अंक बाँड्नु परेको छ ।

सन्दीपको कप्तानीमा नेपालले १४ मध्ये ४ खेलमा जित हात पार्दा ९ खेलमा पराजय भोग्याे । एक खेलमा अंक बाँड्नु परेको छ । ज्ञानेन्द्रको कप्तानीमा १० मध्ये ६ खेलमा जित तथा ४ खेलमा पराजय भोग्दा पारसको कप्तानीमा ६ मध्ये ३ खेलमा जित तथा ३ खेलमा नेपालले पराजय भोगेको छ ।

नेपालले रोहितको कप्तानीमा धेरै खेल खेल्दै गर्दा प्रतिशतको हिसाबमा भने रोहितकै कप्तानी राम्रो नतिजा आएको छ । रोहितको कप्तानीमा नेपालले ७१ प्रतिशत भन्दामाथि जित हात पारेको छ । रोहित कै कप्तानीमा नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउँदा एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा समेत स्थान सुरक्षित गरेको छ ।

त्यसैगरी, ज्ञानेन्द्रको कप्तानीमा नेपालले ६० प्रतिशत, पारसको कप्तानीमा ५० प्रतिशत तथा सन्दीपको कप्तानीमा केवल २८ प्रतिशत जित हात पार्‍याे । समग्रमा नेपालले ५१ मध्ये २८ खेलमा जित हात पार्दा २१ खेलमा पराजय भोगेको छ । २ खेलमा अंक बाँडेको छ ।

नेपालले हालसम्म सात देशसँग ओडिआई खेल खेलेको छ । ती मध्ये सबैभन्दा धेरै १४ पटक युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दा पपुवा न्यूगिनी (पीएनजी) सँग १०, ओमानसँग ७, अमेरिका, ओमान र स्कटल्यान्डसँग समान ६-६ तथा नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

ती मध्ये नेपालले सबैभन्दा धेरै जित यूएई तथा पीएनजीविरुद्ध हात पारेको छ । नेपालले दुवै टोलीविरुद्ध समान ८-८ पटक जित हात पारेको हाे । नेपालले सबैभन्दा धेरै पराजय पनि यूएईसँग नै भोगेको छ । नेपालले यूएईविरुद्ध ६ खेलमा हार भोगेको हाे ।

नेपालले सबैभन्दा धेरै रन ओमानविरुद्ध बनाएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध ८ विकेटको क्षतिमा ३ सय १० रन जोडेको थियो । नेपालले सबै भन्दा कम रन भने यूएईविरुद्ध बनाएको छ । यूएईविरुद्ध दुबईमा नेपालले १ सय ३ मै सबै विकेट गुमाएको थियो । त्यसैगरी, नेपालले अमेरिकालाई सबै भन्दा कम ३५ रनमै अलआउट समेत पारेको छ ।

नेपालका लागि ओडिआईमा ६ खेलाडीले शतक पूरा गरेका छन् । हालका कप्तान रोहित पौडेलसँगै पूर्व कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख र कुशल मल्लले शतक हिर्काए । नेपालका लागि ४६ ओडिआई खेलेका रोहितले सबैभन्दा धेरै १ हजार ३ सय २६ रन समेत बनाएका छन् । नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले सर्वाधिक १ सय ३९ रनको साझेदारी गरेका छन् ।

नेपालका लागि ओडिआईमा सबैभन्दा धेरै विकेट सन्दीप लामिछानेले लिएका छन् । विश्व कीर्तिमान कायम गरेका सन्दीपले १ सय २ विकेट हात पारेका छन् । सोमपाल कामीले ६२ तथा करण केसीले ६१ विकेट लिएका छन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x