क्रिकेट

ओमानविरुद्ध नेपाल ८४ रनले विजयी

५० औँ ओडीआईमा नेपालको सर्वाधिक रन, सन्दीपको विश्व कीर्तिमान

सञ्जीव शाह |
बैशाख ८, २०८० शुक्रवार १६:४१ बजे

काठमाडौँ- नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालका लागि यो ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि हो । ५० औँ खेल खेल्दा ओमानविरुद्ध बनाएको ३ सय १० रन नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन समेत हो । यसअघि नेपालले पपुवा न्यूगिनीविरुद्ध २ सय ९७ रन बनाएको थियो ।


त्यसैगरी, यही खेलमा लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेले विश्व कीर्तिमान समेत कायम गरेका छन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा १०० विकेट पूरा गरेका हुन् । सन्दीपले अफगानिस्तानका राशिद खानले यसअघि राखेको कीर्तिमानलाई तोडे । राशिदले ४४ खेलमा १०० विकेट लिएका थिए ।

अर्कोतर्फ ओमानविरुद्ध कुशल मल्लले शतक पूरा गरेका छन् । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक पूरा गर्ने कुशल छैटौ खेलाडी हुन् । यसअघि पारस खड्का, कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र आशिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक पूरा गरेका छन् ।

शुक्रबारको खेलमा ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमानले ४६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय २६ रन बनायो । ओमानका अकिव इलयास रिटायर्ड आउट भए । ओमानका लागि मोहम्मद नदिमले ६५ रन, सन्दीप गौडले ४६, आयान खानले २९, कश्यप प्रजापतिले २५ रन, जतिन्दर सिंहले १५ रन तथा अदिल शाफिकीले १३ रन बनाए ।

नेपालका लागि र करण केसी र सन्दीप लामिछानेले ३-३ विकेट हात पारे । दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन जोड्यो । नेपालका लागि शतक पूरा गरेका कुशल मल्लले ६४ बलमा १ सय ८ रन बनाए । कुशलले ओमानविरुद्ध ५९ बलमा शतक पूरा गर्दा ९ छक्का र ९ चौका हिर्काए । उनले समग्रमा १० छक्का प्रहार गरे ।

भिम सार्कीले ३३ रन, आशिफ शेखले २९ रन तथा कप्तान रोहित पौडेलले २३ रनको योगदान गरे । सन्दीप लामिछानेले ८ रन र दिपेन्द्र सिंह ऐरी ७ रन तथा कुशल भुर्तेल र आशिफ शेख शून्य रनमा आउट भए ।

सोमपाल कामीले ६३ रन बनाए । उनको एकदिवसीयमा यो सर्वाधिक रन हो । उनले यसअघि ६१ रन बनाएका थिए । करण केसीले २९ रन जोडे ।

ओमानका लागि आयान खानले २ तथा जतिन्दर सिंह, अकिब इलयास, फयाज बट्ट, जिशन मक्सुद र कलिमुल्लाहले एक-एक विकेट हात पारे ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x