क्रिकेट

वर्ष २०७९: बलात्कार आरोप र ‘स्पट फिक्सिङ’ले धुमिल्याएको नेपाली क्रिकेट

सञ्जीव शाह |
बैशाख २, २०८० शनिबार १७:५३ बजे

काठमाडौँ- वि. स. २०७९ मा नेपाली क्रिकेटले नेपालीलाई केही खुसी हुने क्षणको सृजना गरे पनि खेलाडीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लाग्नु तथा नेपाल टी-ट्वान्टी लिगका क्रममा ‘स्पट फिक्सिङ’ हुनुले नेपाली क्रिकेट विवादरहित हुन सकेन । अझ भनौं नेपाली क्रिकेटलाई नै धुमल्यायो ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा गत भदौ २१ गते महानगरीय प्रहरी वृत्त गौशालामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालीन कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेविरुद्ध उजुरी दर्ता भयो । असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरी हिरासतमा राख्यो ।


बलात्कार गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाडौँले कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । तर २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने स-शर्त पुस २९ गते रिहा भए ।

थुनामुक्त भएको १९ दिनपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथिको निलम्बन फुकुवा गर्‍यो । नाबालिकलाई बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै भदौ २३ गते क्यानले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।

बलात्कार गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाडौँले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने स-शर्त पुस २९ गते रिहा भए ।

निलम्बन फुकुवापछि लामिछाने पुनः मैदानमा फर्किए साथै क्रिकेट खेल्न युनाइटेड अरब इमिरेट्स समेत पुगे । उनको मुद्दा अझै पनि अदालतमै विचाराधीन छ ।

लामिछानेमाथि बलात्कार गरेको आरोप लागेसँगै क्यान पदाधिकारीमाथि पनि ठूलो प्रश्न खडा भयो । बन्द प्रशिक्षणमा रहेका तथा विदेशी जानुअघि अघिल्लो रात कसैलाई जानकारी नगराइकनै आफू बसेको होटलबाट लामिछाने बाहिर निस्किएको भन्दै क्यान पदाधिकारीहरूको आलोचना भयो । साथै लामिछानेलाई पुनः टिममा समेटिएको भन्दै विभिन्न स्थानमा प्रदर्शन समेत भए ।

बलात्कारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकै अवस्थामा क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने र उनलाई नेपाली राष्ट्रिय टिमबाट खेलाउने निर्णयले क्यानलाई पुनः विवादमा तानियो ।

त्यसबाहेक विभिन्न विवादका कारण क्यानको नेतृत्वमा रहेका पदाधिकारीहरू चौतर्फी आलोचित भए ।

नेपाल टी-ट्वान्टी लिगमा भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता,लिगका लागि बन्द कोठाभित्र गरिएको टिम तथा खेलाडी छनोट, लिगका क्रममा पारिश्रमिक नपाएको भन्दै खेलाडीहरूले खेल्न बहिस्कार गर्नु, कमेन्टेटरले नै खेलमा मिलेमतो भएको भन्दै आफ्नो जिम्मेवारी त्याग्नु, पूर्व कप्तानले समेत स्पट फिक्सिङका लागि खेलाडीहरूलाई प्रस्ताव आएको स्वीकार्नु तथा लिगमा स्पट फिक्सिङ भएको प्रहरीको अनुसन्धानले पुष्टि गरेपछि क्यान पदाधिकारीमाथि दवाव पर्‍यो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै लिगमा स्पट फिक्सिङ भएको पुष्टि गर्नुका साथै पूर्व क्रिकेटर मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ समेत गर्‍यो ।

सोही विवादलाई लिएर लिग व्यवस्थापनमा जिम्मेवार रहेका क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले पनि पदबाट राजीनामा दिए ।

फिक्सिङलाई लिएर नै आईसीसी तथा राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) ले पनि नेपाल टी-ट्वान्टी लिगलाई लिएर छानविन गर्‍यो । साथै क्यानकै केन्द्रीय सदस्यहरूले लिगमा गल्ती गरेको भन्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित अन्य पदाधिकारीहरूको राजीनामा माग गरे ।

अर्कोतर्फ क्यानले नेपाली राष्ट्रिय टिमका लागि प्रशिक्षक नियुक्त गरे पनि राखेपले त्यसलाई अनुमोदन गर्न ढिलाई गर्‍यो । जसका कारण क्यान र राखेपबीचको विवादलाई पनि सतह ल्यायो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x