क्रिकेट

ललितपुर मेयर्स कप : मधेशलाई पराजित गर्दै कोशी फाइनलमा

इकागज |
चैत १४, २०७९ मगलवार १६:४ बजे

काठमाडौँ- कोशी प्रदेश ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै कोशीले फाइनलको यात्रा तय गरेको हो ।

पाँच टिमको सहभागिता रहेको कोशीले चारमध्ये ३ खेलमा जित हात पार्दै ६ अंकसहित फाइनलको यात्रा तय गरेको हो । नेपाल एपीएफ क्लबले भने चारवटै खेल जित्दै फाइनलमा स्थान बनायो । फाइनल भने बिहीबार हुनेछ ।


मंगलबार १ सय ६ रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४३ रनमात्र जोड्यो । मधेशका लागि रोजी कडारीले १० रन जोडिन् । कोशीका लागि कप्तान रुविना क्षेत्री, निशा शाह र अलिसा खडियाले २-२ तथा सबनम राईले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले रुविना क्षेत्रीको ३९ रन तथा काजल श्रेष्ठको २२ रनको मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रनको योगफल तयार पार्‍यो । मधेशका लागि अमिशा पटेल, अमिरान निशा र सन्तोषी चौधरीले समान २-२ विकेट हात पारे ।

मधेशले चार खेलमा तेस्रो पराजय भोग्यो ।


Author

थप समाचार
x