क्रिकेट

सिरिज गुमाएको पाकिस्तानले अफगानिस्तानलाई हरायो

इकागज |
चैत १४, २०७९ मंगलबार ८:५४ बजे

काठमाडौँ- तीन खेलको सिरिज गुमाए पनि पाकिस्तानले अफगानिस्तानविरुद्धको अन्तिम टी-ट्वान्टी खेलमा जित हात पारेको छ । सोमबार राति सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ६६ रनले पराजित गर्‍यो । यससँगै अफगानिस्तानले सिरिज २-१ आफ्नो पक्षमा पारेको हो ।

अन्तिम खेलमा १ सय ८३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय १६ रन मात्र जोड्न सक्यो । अफगानिस्तानका लागि अजमातुल्लाह ओमारजाईले सर्वाधिक २१ रन बनाए ।


पाकिस्तानका कप्तान सदाव खान र इहसानुल्लाहले समान ३-३ विकेट लिए । मोहमद वासिम, इमाद वासिम र जमान खानले एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन जोड्यो । पाकिस्तानका लागि सैम अयुवले सर्वाधिक ४९ तथा इफ्तिकार अहमदले ३१ रनको योगदान गरे । अफगानिस्तानका मुजिब उर रहमानले सर्वाधिक २ विकेट लिए ।


Author

थप समाचार
x