क्रिकेट

दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्दा विश्व कीर्तिमानको ओइरो

इकागज |
चैत १३, २०७९ सोमबार ९:१ बजे

काठमाडौँ- घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पराजित गर्दा विश्व कीर्तिमानको ओइरो लागेको छ । आइतबार राति वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दा दक्षिण अफ्रिकाले कीर्तिमानी २ सय ५९ रनको लक्ष्य १८ ओभर ५ बलमै पूरा गर्‍यो ।

यसअघि २०१८ मा अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध २ सय ४४ रनको लक्ष्य १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।


दक्षिण अफ्रिकालाई जित दिलाउन ओपनर क्विन्टन डि ककले ४४ बलमा ९ चौका र ८ छक्कासहित १ सय रन तथा रिजा हेन्ड्रिक्स २८ बलमा ११ चौका र २ छक्काको मदतमा ६८ रन बनाए । डि कक र रिजाले पहिलो विकेटका लागि १० ओभर ५ बलमा १ सय ५२ रनको साझेदारी गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रनको विशाल योगफल तयार पारेको थियो । वेस्ट इन्डिजका जोनसन चार्ल्सले ४६ बलमा १ सय १८ रन जोड्दा १० चौका र ११ छक्का प्रहार गरेका थिए ।

समग्रमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेलका क्रममा सर्वाधिक ३५ छक्का प्रहार भएका थिए । यसअघि २०२२ मा सर्विया र बुल्गेरियाबीचको खेलमा ३३ छक्का प्रहार भएको थियो ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेलका क्रममा जम्मा ८१ बाउन्ड्री (चौका र छक्का) प्रहार भयो । कुनै पनि टी-ट्वान्टी खेलमा प्रहार भएको यो सर्वाधिक बाउन्ड्री हो । यसअघि पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तान र क्वेटा ग्लाडियटर्सबीचको खेलमा ७८ बाउन्ड्री प्रहार भएको थियो ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेलका क्रममा टी-ट्वान्टी अन्तर्राष्ट्रियको सर्वाधिक ५ सय १७ रन बन्यो । यसअघि भारत र वेस्ट इन्डिजबीचको खेलका क्रममा २०१६ मा ४ सय ८९ रन बनेको थियो ।


Author

थप समाचार
x