क्रिकेट

के धोनीका लागि यस सिजनको आईपीएल अन्तिम हुनेछ ?

इकागज |
चैत १२, २०७९ आइतवार १६:२२ बजे

काठमाडौँ- मार्च ३१ बाट इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) सुरु हुँदा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी सन् २००८ देखि एउटै टिमको नेतृत्व गर्ने पहिलो खेलाडी हुनेछन् ।

आईपीएलको १६ वर्षे यात्राका क्रममा ४१ वर्षीय धोनीले टिमलाई कैयौ उपाधि दिलाएका छन्, टिमले दुई वर्षका लागि प्रतिवन्ध पनि भोगिसकेको छ भने रविन्द्र जडेजालाई कप्तानी दिएर पुनः धोनीले फिर्ता समेत लिन भ्याएका छन् ।


तर चार पटकको च्याम्पियन चेन्नईका लागि धोनीले यसपटक सम्भवत अन्तिम आईपीएल खेल्न सक्ने आईएएनएसले जनाएको छ । आधिकारिक रुपमा चेन्नईको व्यवस्थापक अथवा धोनीले नै यसबारे केही बोलेका छैनन्, तर आईपीएलबाट सन्न्यास लिने उनले संकेत भने गरेका छन् ।

चेन्नईलाई नेतृत्व गर्ने नयाँ खेलाडी खोज्ने क्रममा धोनीले गत वर्ष जडेजालाई कप्तानीको जिम्मेवारी सुम्पिएका थिए । तर अलराउन्डर जडेजाले उक्त दवाव थेग्न नसकेपछि धोनी पुनः कप्तानीमा फर्किए । त्यो पनि धोनीले आईपीएलबाट सन्न्यास लिन खोजेको एउटा संकेतको रुपमा थियो ।

अर्कोतर्फ फिटनेसको हिसाबमा धोनी अझै पनि अरु खेलाडी भन्दा कम छैनन्, साथै उनको रणनीति अरु कप्तान भन्दा कमजोर छैन । तर आईपीएलबाहेक अरु क्रिकेट नखेल्ने भएका कारण पछिल्लो समय उनले तयारी भने राम्ररी गर्न भने पाएका छैनन् ।

साथै यस सिजनको आईपीएलमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध मार्च ३१ मा चेन्नईले खेल्दा कप्तानीमा गत वर्ष झै कुनै हेरफेर हुन्छ कि हुँदैन भनेर पनि धेरैको चासोको विषय बनेको छ ।

अर्कोतर्फ चेन्नईको चेपक स्टेडियमले धोनीको विदाईको तयारी समेत गरिरहेको दावी गरिएको छ । मे १४ मा चेन्नईले २०२३ को आईपीएलको अन्तिम घरेलु खेल खेल्ने छ । यदि चेन्नईले प्लेअफमा स्थान बनाउन सकेन भने उक्त खेल नै चेन्नईको अन्तिम खेल हुनेछ ।

धोनीले सन्न्यासको घोषणा नगरेपनि उनले आफ्नो अन्तिम खेल भने चेन्नईमा नै हुने बताउने गरेका छन् ।


Author

थप समाचार
x