क्रिकेट

क्यानकाे 'सेन्ट्रल कन्ट्रयाक्ट' मा परेनन् सन्दीप, काे कुन ग्रेडमा ?

१८ पुरुष तथा १२ महिला क्रिकेटर परे केन्द्रीय करारमा

इकागज |
माघ १८, २०७९ बुधवार १३:४६ बजे

पोखरा- नेपाल क्रिकेट संघ (क्यान) ले १८ पुरुष तथा १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको हो ।

कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी र आशिफ शेख गरी पाँच खेलाडी ग्रेड ‘ए’ मा परेका छन् ।


त्यसैगरी ग्रेड ‘बी’ मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् । ग्रेड ‘सी’ मा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जून साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन् ।

पुरुषतर्फ ग्रेड ‘ए’ का खेलाडीले ६० हजार, ग्रेड  ‘बी’ का खेलाडीले ५० हजार र ग्रेड ‘सी’ का खेलाडीले ४० हजार रूपैयाँ मासिक प्राप्त गर्नेछन् ।

महिलाको ग्रेड ‘ए’ मा रुविना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा रहँदा ग्रेड ‘बी’ मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य रहेका छन् । समूह ‘सी’ मा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेका छन् ।

ग्रेड ‘ए’ मा रहने खेलाडीले मासिक २१ हजार,  ग्रेड ‘बी’ मा रहनेले १८ हजार तथा ग्रेड ‘सी’ मा रहनेले १५ हजार पाउनेछन् ।


Author

थप समाचार
x