क्रिकेट

धरापमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १३:१ बजे

काठमाडौँ- विगत लामो समयदेखि विभिन्न आन्तरिक समस्यासँग जुधिरहेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि धरापमा परेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत लगातार खराब प्रदर्शनलाई जारी राखेपछि नेपालको एकदिवसीय मान्यता धरापमा परेको हो ।

लिग-२ अन्तर्गत नामिबियामा बिहीबार सम्पन्न त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले खेलेका ४ मध्ये कुनै पनि खेलमा जित हात पार्न सकेन । नामिबिया र स्कटल्यान्डसँग समान २-२ खेल खेलेका नेपालले केवल एक अंक मात्र जोड्यो त्यो पनि नामिबियाविरुद्धको खेल वर्षाका कारण प्रभावित बनेपछि ।


अन्य ३ खेलमा भने नेपालले पराजय भोग्यो । पहिलो खेलमा नामिबियासँग अंक बाडेको नेपालले दोस्रोमा स्कटल्यान्डविरुद्ध ३ विकेटको पराजय भोग्यो । त्यसैगरी, तेस्रो खेलमा नामिबियाविरुद्ध ८६ रनको पराजय भोग्दा चौथों खेलमा स्कटल्यान्डसँग ८ विकेटको पराजय भोग्यो ।

नेपालले चारवटै खेलमा पुरै ब्याटिङ गर्ने अवसर पाएपनि २०० रन कटाउन सकेन । चारवटै खेलमा २०० मुनिनै अलआउट भएको नेपालले कुनै पनि खेलमा विपक्षीलाई अलआउट पार्न सकेन । समग्रमा नेपालको ब्याटिङ र बलिङ दुबै फितलो देखियो ।

लजास्पद नामिबिया भ्रमणपछि सात टिम सम्मिलित लिग-२ मा नेपाल छैटौं स्थानमै यथावत रह्यो । ३६ मध्ये २४ खेल खेलेको नेपालको केवल १८ अंक छ । नेपाल भन्दा तल केवल २८ खेलबाट ५ अंक जोडेको पपुवा न्यूगिनी रहेको छ ।

३२ खेलबाट ४६ अंक जोडेको स्कटल्यान्डको ४६ अंक, ३६ खेल खेलेको ओमानको ४४ अंक, ३० खेल खेलेको नामिबियाको ३७ अंक, ३६ खेल खेलेको अमेरिकाको ३५ अंक तथा २६ खेल खेलेको युएईको २७ अंक छ ।

सात मध्ये शीर्ष ३ टिमले एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने शीर्ष ५ टिमले एकदिवसीय मान्यता जोगाउने छन् । जबकी पुछारको दुई टिमले एकदिवसीय मान्यता गुमाउने आईसीसीले जनाएको छ ।

लिग अन्तर्गत नेपालले अब केवल १२ खेल खेल्न बाँकी छ । १२ मध्ये नेपालले समान ४-४ खेल युएई र पपुवा न्यूगिनी तथा समान २-२ खेल नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्नुपर्ने हुन्छ ।

तर पछिल्लो नतिजा हेर्दा नामिबिया र स्कटल्यान्डविरुद्धको खेल जित्न नेपाललाई त्यति सहज हुने देखिदैन । त्यसैगरी, लिग-२ अन्तर्गत युएईले यसअघि खेलिएका दुबै खेलमा नेपाललाई पराजित गरेको थियो । त्यसैले युएईविरुद्ध खेल पनि नेपालका लागि सहज हुने देखिदैन ।  

यसरी हेर्दा नेपाल पाँचौं स्थानमा उक्लने सम्भावना कायमै रहेपनि पछिल्ला नतिजाले भने शंका उब्जाएको छ ।


Author

थप समाचार
x