क्रिकेट

मुख्य प्रशिक्षकमा प्रभाकर : नेपाली क्रिकेट खेलाडीलाई भारतमा अवसर

सञ्जीव शाह |
साउन २४, २०७९ मगलवार १२:३७ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेसँगै नेपाली खेलाडीले भारतमा अभ्यास गर्ने तथा खेल्ने अवसर पाउन सक्ने सम्भावनाबारे छलफल सुरु भएको छ । 

भारतका लागि ३९ टेष्ट तथा १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका, अफगानिस्तान क्रिकेट टिम तथा भारतको रञ्जी ट्रफी खेल्ने टिम दिल्ली, राजस्थान तथा युपीको प्रशिक्षक भइसकेका प्रभाकरबाट नेपाली क्रिकेट खेलाडीहरूले भारतमा निरन्तर अभ्यास गर्न तथा भारतमा क्लब क्रिकेट खेल्न पाउने सम्भावनाको ढोका खोल्ने अपेक्षा पनि गरिएको हो । 


यस्तै सम्भावनालाई देखेर नै क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको कतिपयको टिप्पणी छ । 

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल पनि यसमा सहमत छन् । प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेसँगै नेपाली खेलाडीले भारतमा विभिन्न अवसर पाउन सक्ने उनले बताए । 

भारतको उच्चकोटीको खेलाडी, तीनवटा प्रान्तीय टिमको प्रशिक्षक भइसकेको प्रभाकरको नियुक्ति पछाडिको सम्भावना भारतले नेपाली क्रिकेटलाई सहयोग थप गर्ने रहेको मल्लको भनाइ छ । 

‘भारतको रञ्जी टिमहरूसँग खेलाउने सम्भावना तथा भारतमा नेपाली क्रिकेटरले अभ्यासको मौका पाउने सम्भावना बलियो हुनेछ,’ मल्लले इकागजसँग भने । 

मल्लका अनुसार बीसीसीआई अध्यक्ष सौरभ गाँगुली तथा सचिव जय शाहसँग रञ्जी ट्रफीमा नेपाली खेलाडी तथा नेपाली टिम नै खेलाउन पाउने प्रावधानका बारेमा अनौपचारिक छलफल समेत भएको थियो । उनले विभिन्न विषयमा औपचारिक छलफलका लागि क्यान प्रतिनिधि भारत जाने तयारी समेत रहेको जानकारी गराए । 

मल्लले बताए अनुसार बीसीसीआई सदस्यको सिफारिसमा प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । 

यता नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीले पनि प्रभाकरको नियुक्तिबाट नेपाली खेलाडी तथा क्रिकेटले फाइदा लिन सक्ने बताए । 

‘भारतको क्लब-स्तरीय प्रतियोगितामा नेपाली खेलाडी खेलाउन मिल्ने सम्भावना रहन्छ । साथै नेपाली क्रिकेटको विकासका लागि भारतबाट सहयोग प्राप्तिमा प्रभाकरले सहयोग गर्ने सम्भावना बलियो रहन्छ,’ क्षेत्रीले भने । 

क्षेत्रीले प्रभाकरको खेल अनुभव तथा अफगानिस्तानसँगै रञ्जी ट्रफी खेल्ने टिमहरूलाई गरेको प्रशिक्षणबाट पनि नेपालले धेरै कुरा सिक्न तथा फाइदा लिन सक्ने बताए।

प्रभाकरले पनि नेपालमा क्रिकेट प्रतिको चासो, खेलाडीको प्रतिभा र सीपको स्तरलाई हेरेर क्रिकेट टोलीलाई बलियो बनाउन उत्सुक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रभाकरको नियुक्ति यस्तो समयमा भएको छ जतिबेला नेपाली राष्ट्रिय क्रिकेट टिमले यसै वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी-ट्वान्टी विश्वकपमा छनोट हुन असफल भएको तथा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा संघर्षरत रहेको छ । 

सात टिमको सहभागिता रहेको लिग-२ अन्तर्गत नेपालले २० खेलबाट जम्मा १७ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x