क्रिकेट

के नेपालले ओमानको अन्तिम खेललाई निराशाजनक बनाउन सक्ला ?

सञ्जीव शाह |
जेठ ३०, २०७९ सोमबार १२:१७ बजे

काठमाडौँ– अमेरिकाको पिरयल्यान्डमा मंगलबार नेपालविरुद्ध खेल्दै गर्दा ओमानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सबै ३६ खेलको यात्रा पुरा गर्नेछ । सात टिमको सहभागिता रहेको लिग-२ अन्तर्गत ३६ वटै खेल खेल्ने ओमान पहिलो टिम समेत बन्ने छ । 

नेपालविरुद्ध मैदानमा उत्रँदा ओमानको अपेक्षा भनेको खेल जित्दै लिगको यात्रा सुखदरुपमा अन्त्य गर्नु रहनेछ । अहिलेसम्मको यात्रा हेर्दा यो अपेक्षा ओमानका लागि स्वभाविक पनि हो । किनभने उसले पछिल्ला दुबै खेलमा जित समेत हात पारेको छ । अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नै पहिलो खेलमा अमेरिकाविरुद्ध १ सय १४ रनको पराजय भोगेपनि दोस्रो खेलमा नेपाललाई १३ रनले हरायो । त्यसैगरी तेस्रो खेलमा भने अमेरिकालाई नै १३ रनले पराजित गर्न सफल भयो । 


यस हिसावले उसको मनोबल उच्च छ । उसका ब्याट्सम्यान र बल पनि लयमा रहेका छन् । र उनीहरूले नेपाललाई पराजित गर्न जिउज्यान लगाएर खेल्नेछन् किनभने उनीहरू यात्राको सुखद अन्त्य खोजिरहेका छन् ।

ओमानले १ खेल मात्र खेल्न बाँकी छँदा उसका दुई ब्याट्सम्यान जतिन्दर सिंह र कप्तान तथा अलराउन्डर जिसन मक्सुद सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष दुईमा रहेका छन् ।

जतिन्दरले लिग-२ अन्तर्गत अहिलेसम्मकै सबै ३५ खेल खेल्दै सर्वाधिक १ हजार ७५ रन बनाएका छन् । जतिन्दरले सर्वाधिक ३ शतक समेत बनाएका छन् । यता जिसनले भने ३३ खेल खेल्दै ९ सय १७ रन जोडेका छन् । जिसनले २ शतक समेत प्रहार गरेका छन् । नेपाललाई १३ रनले पराजित गर्दा जिसनले अविजित १ सय ४ रन जोड्दै शतकीय पारी खेले । 

यता ओमानकै बलर विलाल खान लिगमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले ३४ खेलमा ७६ विकेट हात पारेका छन् । उनले एकै खेलमा सर्वाधिक ५ विकेट लिएका छन् । पछिल्लो खेलमा अमेरिकाविरुद्ध ३ विकेट समेत हात पारे । विलालले नेपालविरुद्ध पनि २ विकेट हात पारे । 

त्यसैगरी, जिसन मक्सुद सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन् र उनले ३३ खेलमा ४७ विकेट लिएका छन् । पछिल्लो खेलमा उनले अमेरिकाविरुद्ध सर्वाधिक ४ विकेट समेत लिए । जिसनले नेपालविरुद्ध ३ विकेट समेत लिए । 

ओमानका अर्का बलर खवार अलीले ३२ खेलमा ४० विकेट लिइसकेका छन् । उनले पनि नेपालविरुद्ध ३ विकेट हात पारेका थिए । 

तर पनि नेपालविरुद्ध जित निकाल्न ओमानलाई सहज भने पक्कै हुनेछैन । पहिलो खेलमा ओपनर आशिफ शेख र कुशल भुर्तेलको अभाव झेलेको नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध उनीहरूको आगमनसँगै नेपालले राम्रो ब्याटिङ गर्न सफल भएको थियो । 

अझ ओमानविरुद्धको पहिलो खेलमा करणले ५ विकेट लिँदा नेपालको बलिङ राम्रो लयमा रहेको देखाएको थियो । दोस्रो खेलमा भने डेब्यू गरेका आदिल आलमको अलराउन्ड प्रदर्शन तारिफ योग्य थियो । उनी ओमानविरुद्ध पनि नेपालको बलियो हतियारको रुपमा रहन सक्छन् । 

अझै अमेरिकाविरुद्ध आशिफ, रोहित पौडेल र देव खनालको अर्धशतक पुरा गरे र उनीहरूले ओमानका बलरका लागि पक्कै पनि चुनौतीपूर्ण हुनेछन् । 
 
कुन टिमले कति खेल खेले ः

ओमानले ३५ खेलबाट ४४ अंक जोडेको छ र लिग तालिकाको शीर्ष स्थानमा छ । ओमानपछि सर्वाधिक खेल भने अमेरिकाले खेलेको छ । अमेरिका २३ खेल खेल्दै २१ अंक जोडेर तालिकाको चौथों स्थानमा छ । अमेरिकापछि युएईले २२ खेल खेलेको छ । युएई २६ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

यता स्कटल्यान्ड र पपुवा न्यूगिनीले समान २०-२० खेल खेलेका छन् । तर स्कटल्यान्ड २८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने केवल २ अंक जोडेको पपुवा न्यूगिनी भने पुछारमा छ । 

नामिविया र नेपालले समान १४-१४ खेल खेल्दा नामिविया १४ अंकसहित पाँचौं स्थान तथा नेपाल १३ अंकसहित छैटौं स्थानमा रहेको छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x