कोभिड-१९

संवार्ता

कोभिड ‘प्यान्डामिक’बाट ‘इन्डेमिक’मा जानेछ

'ओमिक्रोन छिटो फैलिए पनि घातक छैन'

इकागज |
माघ १४, २०७८ ७:१४ बजे

काठमाडौँ- नेपालमा बिहीबार कोभिड-१९ को संक्रमणको कारण १५ जनाको मृत्यु भयो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पनि तीव्र रूपमा फैलिएसँगै यसको प्रभाव अब देखिन थालेको जस्तो छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विषेशज्ञ  डा.शेर बहादुर पुन केही दिन अगाडि पनि मृतकको संख्या बढेको बताउँछन् । उनी भन्छन्, 'एकै दिनको संख्यालाई आधार मान्ने हो भने बढेको भन्न मिल्दैन । अहिले पनि खोप नलगाएका, बृद्धबृद्धा हुनुहुन्छ वहाँहरूले स्वास्थ्यकर्मीसँग सरसल्लाह लिन जरुरी छ ।' यसै सन्दर्भमा डा.पुनसँग इकागजले गरेको कुराकानी:

अहिले फैलिरहेको ओमिक्रोन भेरियन्टलाई सर्वसाधारण नागरिकले कसरी लिनुपर्छ होला ?


पहिलो कुरा हामी सबैले महामारीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । जसलाई लागेको छ उसले सुरक्षित हुने उपाय अपनाउनुपर्छ । आफ्नो कारणले अरुलाई संक्रमण नफैल्योस भनेर प्राथमिकतामा राख्‍नुपर्छ । गम्भीर लक्षण देखिएमा उपचार गरौ अन्यथा सामान्य भए होम आइसोलेशनमा बसेर पनि उपचार गर्न सकिन्छ ।

तीव्र रुपमा संक्रमण फैंलिदा पनि सरकारले लकडाउन नगरेर किन आवागमनमा आंशिक बन्देज गरिरहेको छ यसलाई कसरी लिन सकिन्छ ?

लकडाउन किन गर्ने भन्ने प्रश्न रहन्छ । अन्तिम विकल्पको रुपमा मात्र यसलाई लिनुपर्छ । अस्पतालमा बिरामीले बेड नपाउने अवस्था र मृत्युदर बढेमा मात्र यसको प्रयोग गर्नुपर्छ । अहिलेको संक्रमणदर र देखिएका संक्रमितको लक्षणलाई हेर्ने हो भने गम्भीर नदेखिएकाले आत्तिनु पर्ने अवस्था छैन । 

दिनप्रतिदिन संक्रमित बढिरहेका छन् । बाहिर सडकमा मानिसको चाप उस्तै छ । यसरी बढिरहेको संक्रमणलाई ब्रेक गर्न सम्भव छ त ?

मानिसहरूले एक ठाउँबाट अर्को ठाउँका मानिसलाई भेटघाट गर्ने हुँदा संक्रमण फैलिइसकेको छ । संक्रमित भएकाले विशेष सावधानी अपनाउनुपर्छ । दोस्रो लहरमा जस्तो अहिले समस्या छैन । मेरो अनुभवमा गत हप्ता भन्दा अहिले मानिसहरू स्वास्थ्यको समस्या लिएर आउनेको संख्या एकदम कम छ । धेरै मानिसहरू संक्रमित भइसकेका छन् । धेरै समस्या हुनेहरूले उपचारका लागि अस्पताल आउनैपर्छ ।

प्रारम्भिक लक्षण देखिदाँ पनि पीसीआर नेगेटीभ आउने गर्‍यो । २-४ दिनमै तिनै व्यक्तिमा संक्रमण पुष्टी भएको भनिन्छ, के ओमिक्रोनको लक्षण नै यस्तै हो ?

पहिलो, दोस्रो लहरमा पनि नेगेटिभ र पोजेटिभ आउने गरेको थियो । यसलाई त्यसरी फरक पर्ने गरी लिनुहुँदैन । यो त्यति नयाँ कुरा होइन । यो विगतमा पनि देखिएको थियो । अहिले पनि भइरहेको छ ।

ओमिक्रोनबाट गम्भीर लक्षण देखा परेन अब भाइरस कमजोर हुँदै गएको हो ?

सम्भवत यो भाइरस कमजोर भएको चाहिँ देखियो । यो जिरोमा जान्छ भनेको चाहिँ होइन । `प्यान्डामिक`बाट `इन्डेमिक`मा परिणत हुन्छ भन्ने मलाई लाग्छ ।  यसमा मैले विभिन्न आधारहरू पनि दिनसक्छु । मैले देख्दा अहिलेकै अवस्थामा यो भाइरस कमजोर हुँदै चाहिँ जान्छ । यसले फेरि रुप फेर्ने नयाँ रुपमा आयो भने त भन्न सकिँदैन । सुरुकै जस्तो हुबहु हुने देखिँदैन ।

कोभिडको सामान्य लक्षण रुघाखोकी र ज्वरो रहेको छ । त्यसो भए रुघाखोकी जस्तै यो महामारीबाट सामान्य रोग बन्न सक्छ त ?

कुनै न कुनै समयमा विभिन्न भाइरसहरूले तहल्का मच्याएकै छन् । ती भाइरसहरूले वर्षौसम्म रोकिए पनि गाह्रो पारेको देखिँदैन । शरीरले पनि यी भाइरससँग फाइट गर्ने क्षमता बढाउँछन । सधैँ एकै किसिमको बिरामी हुने देखिँदैन । अब खोप लगाउनको संख्या पनि बढ्ला । खोपको प्रभावकारिता पनि बढेको छ । भविष्यमा भेरियन्ट परिवर्तन हुँदै आउँदा खोप पनि सोही अनुसार तयार हुँदै जाला ।    

दैनिक ८ हजार माथि संक्रमित देखिने गरेका छन् । यसरी संक्रमणदर घटाउन सम्भव छ र ?

काठमाडौँ बाहिरको अवस्था चाहिँ थाहा भएन । यहाँभित्रको अवस्थामा आगामी दिनमा विस्तारै निको हुने दर बढेको छ । एकहप्ता १० दिनमा धेरै कम भएको पाउँछौँ ।

कोभिडको पहिलो र दोस्रो लहर भोगिसकेको छौ । मानवीय क्षति नभएसम्म ठूलो असर मानिदैन तेस्रो लहरलाई प्रवेश गर्न नदिन सरकार कहाँ चुक्‍न पुग्यो?

पहिलो कुरा दोस्रो लहर चरम अवस्थामा थियो । सभा सम्मेलन भइरहेको छ। भिड बढिरहेको थियो । स्वास्थ्य मन्त्रालयले पनि यसलाई रोक्न भनिरह्यो तर कार्यान्वयन तह एकदमै फितलो बन्यो ।

ओमिक्रोन भारतमा आइसक्दा हामीले व्यापक परीक्षण गर्ने तयारी, कसरी फैलिँदै छ, तयारी गरिहालौँ भनेर लाग्ने कुनै पक्ष देखिएन । सभासम्मेलनहरू धेरै भइरहे । हामीले गाली खायौँ  सभासम्मेलनको नगरौँ भन्दा । हात धुने, मास्क लगाऔँ त भनिरहेकै थियौँ । जाडो महिना रुघा खोकी हुने नै थियो । ओमिक्रोन त्यसै तीव्र गतिमा फैलने, अर्को यहाँ भएका भिडभाड तथा सामान्य कुराहरुमा ध्यान नदिँदा फैलियो । एक हातले त ताली बज्दैन हेर्नुस सभा सम्मेलन गर्दा कसैले ध्यान दिएको देखिएन ।  हामीले भन्यौँ  तर, कार्यान्वयन भएन अहिले समस्या थपियो ।  समाजका नेता, लब्धप्रतिष्ठित मान्छेले नै अटेर गर्दा समस्या भयो कि भन्ने मेरो ठम्याइ छ ।

अस्पताल भर्ना हुने संक्रमितलाई कस्ता-कस्ता लक्षण देखिने गरेको छ?

अहिलेको अवस्थाको बसाइ छोटो छ। भेन्टिलेटर, आइसीयूमा जाने सम्भावना धेरै थोरै छ । अहिलेको अवस्थामा खोप नलगाएकाहरू धेरै संक्रमित भएको देख्छु । डेल्टा जस्तै लामो समय अक्सिजन चाहिने अवस्था भने छैन । खोप नलगाएका, जेष्ठ नागरिक, दीर्घरोगीलाई र शारिरीक रुपमा कमजोर भएकाहरूलाई गाह्रो बनाएको छ ।

बालबालिकामा पनि संक्रमणदर बढ्दो छ । उपचार गर्न आउनेहरूमा कस्ता-कस्ता समस्याहरू देखा परिरहेका छन् ?

बालबालिकाहरूलाई हेर्ने मेरो फिल्डमा पर्दैन । तर, मैले अभिभावसँग कुरा गर्दा खोप लगाउन नपाएको, ज्वरो आउने, पखला लाग्ने, आलस्य हुने देखियो भन्ने छ । यो वयस्क मान्छेहरूलाई देखिँदैन । ठूला मानिसमा नाकबाट पानी बग्ने, खोकी लाग्ने, ज्वरो आउने देखिएको छ । खोप लगाएको लामो समय भएकाहरूलाई भने केही समस्या पारेको देखियो । बालबालिकालाई दुख दिएको छ तर,  अन्य देशमा भन्दा नेपालमा मानवीय क्षति कम भएको छ ।

ओमिक्रोन अरु जस्तै भयानक छ कि छैन ?

अनुसन्धान र अध्ययनलाई हेर्ने हो भने यो छिटो फैलने सक्ने क्षमता लिएर आएको छ । तर, घातकको हिसाबले कमजोर नै छ ।

पछिल्लो समय नेपालमा लगाएको खोपले बनेको एन्टीबडीले कोभिड हुनबाट कतिको सुरक्षित गरिरहेको छ ?

खोपले सुरक्षा प्रदान गरेकैले होला । यूरोप, अमेरिकातिर खोप नलगाएकाहरु अस्पतालमा छन् । नेपालमै पनि खोप लगाएकाहरू घरमै आराम गरिरहनु भएको छ । दुख कम पाउनु भएको छ । यो नै खोपले काम गरेको पर्याप्त काम गरेको आधार हुन् ।

अस्पतालमा बस्ने भन्दा होम आइसोलेसनमा बस्नेको संख्या बढी छ । तपाइलाई सबैले सम्पर्क गर्छन होला उनीहरूले कस्तो-कस्तो लक्षण रहेको बताइरहेका हुन्छन् ?

टाउको दुख्ने, जीउ दुख्ने, खास गरी ढाड, नाकबाट पानी बग्ने, बन्द हुने, स्वर परिवर्तन हुने, पखाला लाग्ने, वाकवाक लाग्ने । अधिकांशले दुई तीन दिनपछि सहज महसुस भएको भन्नु भएको छ । एक हप्तामा काममा फर्किएको भन्नु भएको पनि छ ।

बिहीबारमात्र १५ संक्रमितको मृत्यु भएको छ । अब बिस्तारै मृत्युदर बढन लागेके पो हो कि?

एकै दिनको संख्यालाई आधार मान्ने हो भने बढेको भन्न मिल्दैन । अहिले पनि खोप नलगाएका, बृद्धबृद्धा हुनुहुन्छ वहाँहरूले स्वास्थ्यकर्मीसँग सरसल्लाह लिन जरुरी छ । अहिले पनि हामी कहाँ डेल्टा र ओमिक्रोनको संयुक्त चक्र चलिरहेको छ । हामी अझै सजग हुनै पर्छ । हामी जोखिम चरणमा छौँ । यसको लागि अस्पताल तयार हुनुपर्छ, स्वास्थ्यको क्षेत्र अलर्ट हुनुपर्छ ।

अन्त्यमा कोभिडबाट सुरक्षित रहने मुख्य उपायहरू के-के हुन सक्छन् ?

यसबाट बच्ने उपाय एकै हुन्छन् हामीले विशेष ध्यान दिनुपर्छ । डेल्टाजस्तो समस्या नहोला तर, सजकता हुने केही अप्ठ्यारो परे चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ । जनस्वास्थ्यको मापदण्ड पालना गरौ । मास्क लगाउने र भिडभाडमा नजानु नै यसबाट सुरक्षित रहने मुख्य आधार हुन् ।



Author

थप समाचार
ad
x