कोभिड-१९

बुस्‍टर डोज लगाउने स्वास्थ्य मन्त्रीको रटान: तर, कहिलेबाट ?

'खोपको मात्रा पूरा गरेपछि थप खोप लगाइन्छ'

अतिन आचार्य |
मंसिर २०, २०७८ सोमवार ७:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा पछिल्लो समय कोभिडविरुद्धको दोस्रो मात्रा खोप लगाइसकेका सबैलाई तेस्रो खोपसमेत लगाउन आग्रह गरिरहेका छन् । शनिबार काभ्रेको रोशी गाउँपालिका-६ को वडा भेलालाई सम्बोधन गर्दै ‘बुष्टर’कारूपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन अपिल गरेका थिए । त्यसैगरी प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार (हिजो) सिंहदरबारमा बसेको बैठकमा पनि उनले दुई डोज लगाइसकेका बुस्टर डोज लगाउन उद्घोष गर्न छोडेनन् ।

सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले बुष्‍टर डोज लगाउन उदघोष गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेका छैनन् । खोप केन्द्रमा पहिलो र दोस्रो मात्रा लगाउन बाँकी भएकालाई खोप लगाउने गरिएको छ । मन्त्रीले भनेजस्तो सजिलो खोप थप पाइहाल्ने अवस्था छैन । तर, बारम्बार मन्त्री बुष्‍टर डोजको रटान दिन पनि छोड्दैनन् । खोप लगाइसकेकालाई थप खोपको मात्रा दिलाउन सरकार लागि परेको दाबी गर्न पनि उनले छाडेका छैनन् । तर, न खोप लगाउने मिति सार्वजनिक गर्छन् ।


देशभर खोप अभियानले तीव्रता पाएपछि मृत्युदर संक्रमितको संख्यामा कमी आउन थालिसकेको छ । कोभिडको दोस्रो लहर सुरुवातीमा दैनिक २ सय जनाको मृत्यु हुने गरेको थियो । मुलुकमा अहिले पनि कोभिड-१९ को संख्या कमी भएको छैन । संक्रमितको संख्या मात्र घटेको जोखिम नटरिसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताउँदै आएका छन् ।

पछिल्लो समय सरकारले खोप कार्यक्रमलाई तीव्रता दिएको छ । उपत्यकाका विभिन्न ठाउँबाट पहिलो र दोस्रो खोप उपलब्ध गराउँदै आएको छ । कोभिडको स्वरुपअनुसार केही राष्‍ट्रले खोपको निर्माणसमेत गरे । तर, नयाँ-नयाँ भेरियन्टको विकास भएकाले खोप प्रभावकारी हुन्छ हुन्न भनी आशंका पनि बढ्दै गएको छ ।

दक्षिण अफ्रिकाबाट कोभिडको ओमीक्रोन भेरियन्ट सुरु भएर ३० भन्दा बढी मुलुकमा पुगिसकेका छन् । कोभिडबाट सुरक्षित रहने मुख्य उपाय खोप रहेकाले थप खोपको मात्रा लगाउनलाई चिकित्सकले मिलाइदिन आग्रह गरेका छन् । 

खोपको मात्रा वृद्धि गरेकामा १० गुणा प्रतिरोधात्मक क्षमता हुने शेरचनको भनाइ छ । उनले सरकारलाई खोपको मात्रा थप्‍नु अघि सबैलाई खोप लगाउन सुझाव दिए । खोपको दुवै मात्रा लगाइसकेकालाई थप खोपको मात्रा उपलब्ध गराउनुपर्ने खोपविज्ञ डा. जीवनबहादुर शेरचन बताउँछन् । यसअघि लगाइसकेको खोपको समय सकिएकाले शरीरका लागि खोप चाहिने बताए ।

'नयाँ स्वरुपमा देखिएको कोभिडको भेरियन्ट आउने भएकाले पनि खोप लगाउनु जरुरी छ,' शेरचनले भने,' खोपले शरीरमा प्रोटीन उत्पादन गरी निस्तेज पार्ने गर्छ ।' भाइरसले उत्पादन गर्ने प्रोटीनलाई समेत खोपले रोक्न सक्‍ने उनको दाबी छ ।

भेरियन्ट स्वरुप परिवर्तन गरी सक्रिय हुने भएकाले खोपले प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उनको विश्‍वास छ । खोपको निश्‍चित अवधि हुने गर्छ । दुवै खोप लगाएको समय आठ महिना नाघेपछि शरीरमा भएको शक्ति कम हुँदै जाने गर्छ ।

स्वास्थ्य मन्त्री खतिवडा भन्छन्,' सबैलाई खोप लगाइसकेपछि बुष्‍टर डोज लगाउछौ ।' मन्त्रिपरिषदबाट निर्णय गराएर खोपको मात्रा पूरा गरेकालाई खोप दिने उनले बताए ।

खोपको मात्रा पूरा गरेकालाई थप खोप उपलब्ध गराउनका लागि प्रधानमन्त्रीलाई जानकारी गराइसकेको मन्त्री खतिवडाले बताए । प्रदेश, जिल्ला र स्थानीय तहबाट खोप लगाइने उनको भनाइ छ । नयाँ-नयाँ भेरियन्ट आएकाले पनि खोप लगाउन जरुरी रहेको खतिवडाले प्रस्ट पारे । खोप लगाउने मिति पनि चाँडै सार्वजनिक गरिने उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा.सागरकुमार दाहालकाअनुसार खोप सबैलाई पुर्‍याउने लक्ष्यसहित अहिले खोप अभियान चलिरहेको छ । दिनप्रतिदिन खोप लगाउने मानिसहरूको संख्या बढिरहेको उनको भनाइ छ ।

'सबैलाई दोस्रो मात्रासहितको खोप लगाउने योजना छ,' दाहालले भने,' बुष्‍टरको रुपमा नबुझेर खोपको अर्को मात्रा थप गरिएको भनेर बुझ्नुपर्छ ।' सरकारले लक्ष्य अनुसार खोप पुस मसान्त दुई तिहाईलाई खोप लगाइसक्ने उनले जानकारी दिए ।

खोपको दुवै मात्रा पूरा गरेकालाई थप खोप उपलब्ध गराउन छलफल चलाइरहेको दाहालले जानकारी दिए । 'धेरै भन्दा धेरै मानिसलाई खोप लगाउने योजना छ,' उनले भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x