अदालत

आजबाट सरकारी वकिलले खाणसँग बिषय केन्द्रित बयान लिने

इकागज |
बैशाख २८, २०८० बिहीबार ७:१५ बजे

फाइल फोटो

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको आजबाट बयान सुरु हुने भएको छ । सरकारी वकिलले आजबाट पूर्वमन्त्री खाण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो । 

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के के निर्णय दियो ? लगायतको बिषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने । उनका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिने छ ।​


बुधबार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पूर्व गृहमन्त्री खाण माथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले चार दिनको समय दिइसकेको छ । अदालतले दिएको समयसिमा भित्र नै खाणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।

आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाणसँग आज बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाइएको छ । हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाणले सरकारी वकिल समक्ष आफ्नो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए । 


Author

थप समाचार
x