अदालत

आईजीपी नियुक्ति विवाद : आज मुद्दाको सुनुवाइ हुँदै

इकागज |
असार १३, २०७९ सोमवार ७:२१ बजे

काठमाडौँ- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ। यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आज सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। 

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। आजप्रतिवादीका तर्फबाट बहस हुनेछ। 


कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजालसमा उक्त विवादबारे सुनुवाइ भइरहेको छ । पक्षको बहस नै नसकिएकोले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । 
    
प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
    
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।


Author

थप समाचार
x