अदालत

सिद्धबाबालाई सफाइ दिने जिल्लाको फैसला उच्च अदालत विराटनगरद्वारा बदर

पुनः इन्साफका लागि पठाउन आदेश

बाबुराम भण्डारी |
जेठ ३, २०७९ मगलवार २०:२४ बजे

विराटनगर - आफ्नै एक महिला अनुयायीमाथि जबरजस्ती करणीको अभियोग लागेर मुद्दा खेपिरहेका कृष्णदास भनिने सिद्धबाबा रामकृष्णाचार्यलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलालाई उच्च अदालत विराटनगरले उल्ट्याएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्ला अदालत सुनसरीको फैसला बदर गरेको हो ।

गिरीले गत २०७७ मंसिर २२ मा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका थिए । जिल्लाको आदेश उच्चले बदर गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।


उच्चले उक्त मुद्दामा प्रतिवादी सिद्धवावा भनिने कृष्णबहादुर गिरीबाट पीडित भएको भनिएकी अनुयायीका पक्षमा पुनः इन्साफका लागि पठाउने भनि आदेश दिएको जनाइएको छ ।

इजलासले पीडित र पीडक भनिएका सिद्धवावाबीच भएको सम्वादलाई परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न, पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न जिल्ला अदालत सुनसरीलाई आदेश दिएको हो ।

सिद्धवावाविरुद्ध २०७६ कात्तिक ४ मा जबरजस्ती करणी भएको भन्दै २०७६ मंसिर ११ मा उनकी महिला अनुयायीले प्रहरीमा पहिलो जाहेरी दिएकी थिइन् । गिरीलाई २०७६ पुस १४ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो । न्यायधीस कोइरालाले २०७७ मंसिर २२ मा गरेको फैसलामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सहमति यौन सम्बन्ध राखेकोले जबरजस्ती करणी नठहरिने फैसला गरेका थिए ।

उक्त फैसलामाथि पुनरावलोकनको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्चमा आवेदन गरेपछि उच्च अदालत विराटनगरका तत्कालिन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x