कर्पोरेट

सौरभ कोठारी संवार्ता

हामी उपभोक्ताको चाहना अनुसार उत्पादन गर्छौँ

‘शाओमी टिभीमा थोरै डेटाबाट धेरै कार्यक्रम हेर्न सकिन्छ’

कमल धिताल |
पुस ८, २०७८ बिहिवार १६:९ बजे

नेपाली बजारमा आएको निकै छोटो समयमै शाओमी एक उत्कृष्ट कम्पनी बन्न पुगेको छ । स्मार्टफोन, टिभी, लगायत दैनिक जीवन सहज बनाउने विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको यस कम्पनीको नेपाल व्यवस्थापन हाल कन्ट्री जनरल मेनेजर​ सौरभ कोठारीले हेर्दै आएका छन् । साओमीको बजार, नयाँ उत्पादन तथा अन्य विविध विषयमा इकागजका कमल धितालले कोठारीसँग गरेको कुराकानीको सम्पादित अंश:

शाओमी नेपालमा छोटो समयमा नै लोकप्रिय ब्रान्ड बन्न पुगेको देखिन्छ, यसको सफलताको सूत्र केलाई मान्नुहुन्छ ?


साओमीको यसरी आक्रामक बजार विस्तार हुनुमा मुख्य गरेर तीनवटा कारणहरू देख्छु । पहिलो त यसको सफ्टवयेरलाई लिन सकिन्छ । दोश्रो, यसमा प्रयोग भएको हार्डवेयर र तेश्रोमा रिटेल व्यापार रहेको छ । साओमीको  हरेक फोनमा हामीले सकेसम्म नयाँ र अत्याधुनिक सफ्टवेर प्रयोग गर्छौँ। अहिले साओमीले आफ्नै सफ्टवयेर कम्पनी समेत खोलेको छ ।

साओमीले भर्खरै इयरफोन, पावर बैंक, एयर प्युरिफायर तथा कम्प्रेसर लगायतका धेरै उत्पादनहरू बजारमा ल्याएको छ, जुन आकर्षक डिजाइन र  गुणस्तरीय हार्डवेयर प्रयोग भएकै कारण लोकप्रिय बनेको थियो। हामी जहिले पनि नवीनतम प्रविधि, उच्च गुणस्तरीय हार्डवेयर र उत्कृष्ट डिजाइन मार्फत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न केन्द्रित छौँ। तेश्रो भनेको साओमीको बिक्री रणनीति हो । साओमीले आफ्नै स्टोर खोलेर प्रडक्टहरूको बिक्री वितरण गर्ने गरेको छ । त्यसका साथै हामीले यहाँका लोकल इ-कमर्स साइटहरूसँग पनि सहकार्य गरेर बिक्री वितरण गर्ने गरेका छौँ । साथै नेपालभर हाम्रा २ हजार भन्दा धेरै रिटेल पार्टनरसँग सहकार्य गरेका छौँ ।

नेपालमा शाओमी लोकप्रिय स्मार्टफोन ब्रान्ड बनेकाे छ । के शाओमी टिभी पनि त्यत्तिकै चर्चित होला त ?

हामीले यस्तै अपेक्षा गरेका छौँ । गत वर्षको सेप्टेम्बरमा हामीले जब नेपालमा पहिलो टिभी सार्वजनिक गरेका थियौँ , त्यसमा हाम्रो ४३ इन्च र ५५ इन्चको एचडी टिभी थियो । ६ महिनाको अवधिमा शाओमी टेलिभिजन उलेख्य मात्रामा बिक्री भएपछि हामीले अरू मोडलहरू पनि सार्वजनिक गर्नुपर्ने देखियो । त्यसपछि हामीले ३२ इन्चदेखि ४३ इन्च, ५५ इन्च, ६५ इन्चका फोर के (4K) टिभी नेपाली बजारमा सार्वजनिक गरेका छौँ । मोबाइल फोनजस्तै साओमीको टिभी नेपाली उपभोक्ताले अत्याधिक रूचाएका छन् । नेपालमा हामीले साँढे दुई वर्षअघि मोबाइलको बिक्री शुरु गरेका थियौँ । त्यस्तै, हामीले टिभीको बिक्री सुरु गरेको पनि भर्खरै एक वर्ष पूरा भएको छ । यति छोटो समयमै बजारमा पाएको प्रतिक्रियाले चाँडै नै हामी नं १  टि भी पनि हुनेछौँ ।

शाओमी टिभी बजारमा पाइने अन्य टिभी भन्दा कसरी फरक छ? यसमा फरक विशेषता के छ ?

राम्रो प्रश्न गर्नुभयो। यो कुरा शाओमी प्रयोगकर्ताले पनि बुझ्नु जरुरी छ । स्मार्ट टिभी भन्ने बित्तिकै हामीलाई लाग्छ कि सबै एउटै हुन् , तर साओमीको हकमा यो विल्कुलै फरक रहेको छ । मि टिभीमा एन्ड्रोइडको सम्पूर्ण मज्जा लिन सकिन्छ । यसमा प्ले स्टोरमा भएको जुनसुकै टिभीका एप्लिकेसन इन्स्टल गरेर प्रयोग गर्न सकिन्छ । नेपालमा बिक्री हुने कमै टिभीमा यस्तो विशेषता देखिन्छ । यसको अर्को उत्कृष्ट पक्ष भनेको ३२ देखि ६५ इन्चसम्मकै टिभीमा स्मार्ट रिमोट प्रयोग गरिएको छ । स्मार्ट रिमोटमा तपाईले आफ्नो आवाजमा आफूले चाहेको च्यानल अथवा भिडियो खोज्न सक्नुहुन्छ । भ्वाइससँगै यसले तपाईंले चाहेका परिणाम देखाउँछ । साथै यसमा युट्युब र नेटफ्लिक्समा नेपाली भाषा सपोर्ट गर्छ । यसले गर्दा साना बच्चाहरूले समेत आफूले चाहेका कन्टेन्ट सजिलै खोज्न सक्छन् । जस्तो मेरो ३ वर्षीय छोरीको मनपर्ने गीत 'कुटुमा कुटु' हो, घरमा हुँदा उनी रिमोटको एक बटन थिचेर यो गीत सुन्ने गर्छिन् ।

यसले गर्दा चाहे ३ वर्षीय बच्चा होस् वा ७० वर्षका वृद्धा, सबैले सजिलै आफ्नै भाषामा स्मार्ट भ्वाइस मार्फत आफूले चाहेका कुरा खोज्न सक्छन् । मि टिभी लोकप्रिय हुनुमा अर्को पक्ष भनेको यसको ब्लुटुथ पनि रहेको छ । हामीले टिभीमा अन्य च्यानल परिवर्तन गर्नका लागि रिमोट टिभी तर्फ नै देखाउँदै आएको अनुभव छ । तर, मि टिभीको रिमोट भने ब्लुटुथबाट चल्छ। ब्लुटुथ भएपछि यसलाई अन्य कोठाबाट समेत प्रयोग गर्न सकिन्छ । यसमा ब्लुटुथ कनेक्टिभिटीको रेन्ज पनि निकै राम्रो रहेको छ । अन्य टिभीले हालसम्म पनि इन्फ्रारेड प्रविधि प्रयोग गर्दै आएको देखिन्छ तर मि टिभी भने प्रयोगकर्ता मैत्री रहेको छ । हाल बजारमा उपलब्ध रहेका सबै मि टिभीमा ब्लुटुथ प्रविधि प्रयोग गरिएको छ । अर्को भनेको मि टिभीमा डाटा सेभर प्रविधि रहेको छ जसले अन्य टिभीको तुलनामा ४०% डाटा सेभ गर्छ । यसमा आफैँ फ्रेम रेट घटाउन सक्ने प्रविधि प्रयोग भएको छ । डाटा सेभर प्रविधिले मोबाइल डाटाबाट टिभी हेर्दा समेत निकै कम मात्र डाटा खपत गर्ने गर्छ । यस्तै आधुनिक प्रविधिहरूको प्रयोगले नै मि टिभी अन्य टिभी भन्दा फरक छ ।

शाओमीको सस्तो देखि महँगो सबै प्रकारका टिभी बजारमा उपलब्ध रहेको छ । यसले पनि स्मार्टफोनको रणनीतिलाई पछ्याएको हो ?

अहिले बजारमा साओमीको १३ हजार देखि ९० हजारसम्म रेन्जको फोन रहेको छ । त्यस्तै मि टिभीमा पनि शुरुवाती मूल्य २९ हजार ९ सयदेखि १ लाख १० हजारसम्मका टिभी बजारमा उपलब्ध रहेको छ। साओमीले फोनमा जस्तै टिभीको पनि ग्राहकको क्षमता अनुसारको मूल्य निर्धारण गरेको छ । यसले गरदा ग्राहकले आफ्नो क्षमता अनुसारको टिभी खरिद गर्न सक्नेछन् । त्यस्तै मि टिभीले विभिन्न साइज अनुसारको टिभी बजारमा उपलब्ध गराएको कारण आफ्नो घरमा भएको स्पेस अनुसारको टिभी किनेर त्यसको मजा लिन सक्नेछन् । त्यस्तै हामीले साओमीको ३२ इन्चदेखि ६५ इन्चसम्मका टिभीमा समान विशेषताको प्रयोग गरेका छौँ जसले गर्दा ३२ इन्च किन्ने ग्राहकले पनि ६५ इन्च टिभीमा रहेको विशेषताको अनुभव गर्न पाउनेछन् । यसकारण पनि मि टिभी छोटो समयमा बजारमा लोकप्रिय हुँदै गएको छ ।

शाओमीले बेला-बेला नयाँ उत्पादन सार्वजनिक गर्दै आएको छ। के ग्राहकले तत्कालै नयाँ केहि आशा गर्न सक्छन्?

यो वर्ष हामीले साओमीका धेरै उत्पादनहरू सार्वजनिक गर्यौँ। भर्खरै मात्र एयर प्युरिफायर तथा एयर कम्प्रेसर सार्वजनिक गर्यौँ। एयर प्युरिफायर काठमाडौँ जस्तो ठाउँको लागि अत्यन्तै उपयोगी उत्पादन रहेको छ । यो किफायती त छ नै, यसमा स्मार्ट कन्ट्रोल तथा हेपा फिल्टर प्रविधिको पनि प्रयोग गरिएको छ ।  हामी चाँडै नै क्यामेरा सहितको टिभी सार्वजनिक गर्ने तयारीमा छौँ जसले भिडियो कल गर्दा हातमा मोबाइल बोक्नुपर्ने झन्झटको अन्त्य गर्नेछ । कतिपय मानिसलाई मोबाइल बोकेर भिडियो कल गर्न झन्झट लाग्छ। यसको विकल्पको लागि मि टिभीमा नै गुगल भिडियो हुनेछ जसबाट सजिलै भिडियो कल गर्न सम्भव हुनेछ । यसबाट टिभीमै अर्को व्यक्तिसँग भिडियो कल गर्न सकिनेछ । त्यस्तै अर्को नयाँ प्रोडक्टको रूपमा मि टिभी स्टिक पनि छ, जसले साधारण टिभीलाई समेत स्मार्ट टिभी बनाउन सम्भब हुनेछ । यस्ता धेरै नयाँ उत्पादन सार्वजनिक गर्ने तयारीमा रहेको छौँ।

शाओमीले उत्पादन गरेका कतिपय फ्लागसिप फोन हालसम्म नेपालमा सार्वजनिक भएका छैनन्, कहिलेसम्म यी फोनहरू बजारमा आउलान् ?

नेपालमा हामीले गत वर्षदेखि नै फ्लागसिप फोनहरूको बिक्री सुरु गरेका थियौँ । नेपालमा साओमीको पहिलो फ्लागसिप फोनको रूपमा मि टेन सार्वजनिक गरेका थियौँ, त्यसपछि भने मि ११, मि ११ लाइट लगायतका फोन सार्वजनिक गर्‍यौँ । त्यस्तै पोको सिरिजमा पोको एफ थ्री ल्याएका थियौँ । यी फोनहरू पनि बजारमा झनै लोकप्रिय हुन पुगे, जसले गर्दा आगामी दिनहरूमा हामी फ्याल्गसिप सहित अन्य नयाँ उत्पादन गर्ने तयारीमा लागेका छौँ । मैले नेपालीहरू प्रविधि मैत्री रहेको पाएको छु । हामीले ल्याएका नयाँ प्रोडक्टहरू बजारमा आउनासाथ यसलाई सजिलै अपनाउने गरेका छन् । यसले गर्दा पनि हामीले सकेसम्म नयाँ प्रडक्ट सार्वजनिक गर्नैपर्छ । विश्व बजारमा आएका साओमीको हरेक उत्पादन नेपालमा पनि सार्वजनिक हुँदै जानेछन् ।

नेपालमा शाओमीको यात्रा कस्तो पाउनुभएको छ ? २०२१ मा शाओमी नं १ हुँदा कस्तो अनुभव रह्यो ?

२०१८ मा हामीले शाओमी नेपालमा आउँदा हामी शुन्यमा थियौ। त्यस पछिको हाम्रो निरन्तर यात्रा र प्रयोगकर्ताहरूको साथको कारण २०२१ को तेश्रो क्वार्टरमा हामी नेपालको नं १ स्मार्टफोन ब्रान्ड हुन सफल भएका हौँ । झन्डै अढाई वर्षको यात्रामा इन्टरनेसनल डाटा कर्पोरेशन (आइडिसी)ले साओमीलाई नं १ मा राखेको थियो । हाम्रो लागी यो अत्यन्तै सुन्दर यात्रा रहेको छ। हाम्रो प्रयोगकर्ताहरूको माया र साथले गर्दा नै यो यात्रा सुन्दर भएको छ। हामीले सार्वजनिक गरेको हरेक प्रोडक्टमा प्रयोगकर्ताको रिभ्यु तथा फिडब्याकका आधारमा पनि त्यसमा सुधार गर्ने गरेका छौँ । साओमीकै प्रयोगकर्ता तथा फ्यानहरूको अझै नयाँ-नयाँ प्रोडक्ट सार्वजनिक गर्न हौस्याउने गरेका छन् । फेसबुकमा साओमीको झन्डै १० हजारको कम्युनिटी रहको छ जस मार्फत हामीले सार्वजनिक गरेका प्रोडक्टहरूमा प्रयोगकर्ताहरूको फिडब्याक लिने गरेका छौँ। यसले यसको राम्रो र नराम्रो पक्ष सजिलै थाहा पाइन्छ । यसले गर्दा हामीले बजारमा ल्याउने नयाँ उत्पादनलाई कसरी अझ राम्रो बनाउँदै लान सकिन्छ भनेर जानकारी पाँउछौँ।

नेपालमा शाओमीको दुई आधिकारिक डिलर रहेका छन् शारदा र लक्की ग्रुप । दुई ग्रुप हँदा यसलाई व्यवस्थित गर्न केहि अप्ठ्यारो हुने गरेको छ ?

खासै त्यस्तो समस्या छैन । दुई ग्रुपबीच हामीले कार्यक्षेत्र छुट्याएर काम गर्ने गरेका छौँ । जस्तो शारदा ग्रुपले काठमाडौँ उपत्यका भित्र मात्रै साओमीको कारोबार गर्छ भने लक्कीले उपत्यका बाहिरको कार्यक्षेत्र सम्हालेको छ । दुवै ग्रुपको कार्यक्षेत्र नजुध्ने हुँदा दुई ग्रुपबीच काम गर्न सजिलो रहेको छ।

अन्त्यमा, शाओमी उपभोक्ताहरूको लागि केहि सन्देश ?

शाओमी प्रयोगकर्ताको लागि मेरो सन्देश भनेको हामीलाई यसैगरि माया र प्रतिक्रिया दिँदै जानुहोस्, जसले आगामी दिनमा हाम्रो उत्पादनहरूमा सुधार गर्न सकियोस् । हामीले नेपालमा मि टिभी सार्वजनिक गर्ने कुनै योजना थिएन तर हाम्रा फ्यानहरूको अनुरोधमा हामीले सार्वजनिक गरेका हौँ । हामीलाई यसैगरि माया तथा राम्रा तथा नराम्रा प्रतिक्रियाहरू दिदैँ जानुहोस् जसले गर्दा हामीले यसमा सुधार गर्न सकियोस् । हामी तपाईहरूले दिनुभएको हरेक सुझावलाई सकारात्मक रूपमा लिनेछौँ र त्यहि अनुसार हाम्रो उत्पादन सुधार गर्दै जानेछौँ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x