कर्पोरेट

वार्षिकोत्सवमा टेलिकमले ल्यायो अफर

इकागज |
माघ २२, २०७९ आइतबार १८:५७ बजे

काठमाडौं– नेपाल टेलिकमले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले अध्यक्षता गरेका थिए । 

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताइन् । उनले भनिन्– ‘नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमि अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवाहरु, करसँग सम्बन्धित कार्यहरु लगायत सेवाहरु उपलब्ध गराइरहेको छ ।’ यी सेवाहरु निरन्तर सुलभ रुपमा नागरिकलाई उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उनँले इंगीत गरिन् ।


मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधाहरुलाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्ता शेयरधनीहरुलाई अधिकतम प्रतिफल दिनु कम्पनीको दायित्व रहेको पनि सो कार्यक्रममा बताइन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टी सर्वोपरी हुनुपर्ने बताए । ‘कम्पनीले सेवाहरु देशभर विस्तार गरेर मात्र पुग्दैन, वितरित सेवाहरु गुणस्तरीय, भरपर्दो र निरन्तर उपलब्ध गराउनु पर्छ ।’ उनले भने ।
सो कार्यक्रमका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारीसमेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिए ।  

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले नयाँ प्रविधिका रुपमा इ–सिमको देशव्यापी वितरण गरिरहेको बताए । उनले प्राविधिक र भौगोलिक कारणले सेवाको पहुँचमा आउन नसेकेका देशका कतिपय भूभागमा सेवाको पहुँच पु¥याउन, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको उल्लेख गरे । नयाँ सेवाका रुपमा फाइभजीको परीक्षण जारी रहेको जानकारी पनि दिए ।    

कम्पनीको १९औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपलब्ध गराइएको छ । यस अन्तर्गत रु. २९४ मा १० दिनका लागि २० जीबी डाटा, रु.९८ मा ३  दिनका लागि ६ जीबी डाटा र रु.४९ मा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ । यसैगरी रु. २०० देखि रु. ४९९ को रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा रु ५०० वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ । यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ । नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि रु. १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइनेछ । यो सेवा फाल्गुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ ।
 


Author

थप समाचार
x