कर्पोरेट

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

इकागज |
साउन २३, २०७९ सोमवार १५:५७ बजे

काठमाडौँ- सेयर खरिद विक्री गर्ने व्यक्तिहरूले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी  गर्नका लागि थप सहज भएको छ ।

हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरूमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरूमा उपलब्ध हुनेछ । इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।


लगानीकर्ताहरूले आफ्नो मोबाइल मार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सकिनेछ । यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुबैलाई सहज हुनेछ । 

इसेवाका लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ । 

टिएमएसमा रकम पठाउन सकिने विषयमा इसेवाका विजनेस हेड आशिष गौतमले भन्नुभयो “ आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरि टिएमएसमा इसेवा जोडिएको छ । इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ”। 

इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

 इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


Author

थप समाचार
x