संवैधानिक अंग

उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै डिआईजी अशोक सिंहविरुद्ध अख्तियारमा उजुरी

इकागज |
फागुन ३, २०७९ बुधवार १२:२० बजे

काठमाडौँ - नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ ।  हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डिआईजी सिंहले नेपाली नागरिकताको प्रमाणपत्रमा उमेर घटाएको, वास्तविक थर लुकाएको र नक्कली शैक्षिक योग्ताको प्रमाण पत्र पेश गर्दै जागिर खाएको भन्दै बुधबार अख्तियारमा उजुरी परेको हो । सिंहविरुद्ध परेको उजुरी अख्तियारले दर्ता गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको पुष्टि गरे । दर्ता उजुरीउपर नियमानुसार अनुसन्धान अगाडि बढाउने उनले इकागजलाई बताए ।


'सिंहले किर्तेगरी सरकारी निकायलाई भ्रममा पारेर वास्तविक उमेरभन्दा कम उमेर देखाएर जागिर खाइरहेका छन्,' अख्तियारमा परेको उजुरीमा भनिएको छ, 'प्रहरीमा जागिर खानकै लागि पहिले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए। सो विषय अशोक सिंहले गत वर्ष सामाजिक संजाल फेसबुकमा हालका गृहसचिव विनोदप्रकाश सिंहलाई सचिव पदमा बढुवा भएकोमा मेरो प्रिय भाइ विनोद सिंहलाई बधाई भन्दै लेखेका थिए। आगामी वर्ष ५८ वर्षे उमेरहदले अनिवार्य अवकाश पाउने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह (हाल ५७ वर्ष) लाई भाइ भनेर सम्बोधन गर्ने डिआईजी अशोक सिंहको हालको उमेर ५७ वर्षभन्दा बढी हुनुपर्ने हो।'

सोही आधारमा  सिंहले प्रहरी नियमावली अनुसार डिआईजीको ५६ वर्षे उमेरहदको कारण स्वत अवकास पाउनुपर्ने जिकिर उजुरीमा छ । सिंहको सुरु नागरिकता जारी भएको जिल्लादेखि सम्पुर्ण रेकर्ड मगाइ गम्भीरतापूर्वक छानबिन गर्न माग गरिएको छ । 

त्यस्तै उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाइरहेको समेत उजुरीमा दाबी गरिएको छ । 'सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेश गरेको आईएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो । भारतको लखनउमा उनले कलेज पढ्दै नपढी आईएको नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेका थिए,' उजुरीमा भनिएको छ, 'त्यस्तै उनले पेश गरेको स्नातकको शैक्षिक योग्यताको प्रमाणपत्र पनि भारतीय नै हो । सो सम्बन्धि सम्पूर्ण कागजात प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा र सम्बन्धित कलेजबाट झिकाइ, भिडाइ छानबिन गर्नुपर्दछ।'

डिआइजी सिंहले वास्तविक थरसमेत लुकाएको आरोप उजुरीमा लगाइएको छ । 'उनको नाम अशोक सिंह बोगटी हो । तर प्रहरी प्रधान कार्यालयको तीनपुस्ते रेकर्डमा अशोक सिंह मात्र देखिन्छ,' उजुरीमा भनिएको छ, 'राष्ट्रसेवक कर्मचारी त्यसमा पनि कानुन कार्यान्वयन गराउने निकायको जिम्मेवार पदमा रहेको कर्मचारीले नागरिकता सच्च्याएर आफ्नो वास्तविक थर नै हटाउने काम गर्नु आफैमा दुर्भाग्यपूर्ण अवस्था हो।'

सिंहले आफ्नो भाइ नाता पर्ने गृहसचिव विनोद प्रकाश सिंहलाई प्रयोग गरेरएआईजीमा बढुवाको लागि अस्वाभाविक चलखेल गरिरहेको निवेदकको दाबी छ । उल्लेखित विषयमा यथाशीघ्र छानबिनगरी हदैसम्मको कारबाही गर्न निवेदनमा माग गरिएको छ ।
 


Author

थप समाचार
x