नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस १४ औँ महाधिवेशन

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्‍पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

गुट समाउँदा जित्न सजिलो हुने भएकाले ‘क्लस्टर’मै चित्त बुझाउँदै

दुर्गा आचार्य |
पुस ६, २०७८ मंगलबार १५:२७ बजे

काठमाडौँ : कांग्रेस खुला केन्द्रीय सदस्यका उम्मेदवारको सूचीमा एक मात्रै महिला उम्मेदवार थिइन्, शारदा पौडेल । ३५ पदका निम्ति ९९ जना उम्मेदवार थिए, जसमा उनी एक्ली महिला थिइन् ।

मतगणनाकाे अन्तिम परिणाम आउँदा उनी निर्वाचित भइनन् । अर्थात् खुला केन्द्रीय सदस्यमा एक जना पनि महिला निर्वाचित भएनन् । उनले मात्रै ३५८ मत प्राप्त गरिन् । तर, उनी कुनै पनि प्यानलको आधिकारिक उम्मेदवार थिइनन् । उनले उम्मेदवारी फिर्ता लिइसकेकी थिइन् । 


निर्वाचन कार्यतालिका बमोजिम समय घर्किसकेपछि उम्मेदवारी फिर्ता लिएकोले सूचीमा नाम आएको पौडेलले बताइन् । अर्थात् खुला केन्द्रीय सदस्यमा कसैले प्रतिस्पर्धा गर्ने आँट गरेनन् । कांग्रेस खुला केन्द्रीय सदस्यमा एक जना पनि महिला प्रतिस्पर्धामै नआएपछि याे बहसको विषय बनेकाे छ ।

आखिर किन खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धामै आएनन् महिला नेतृ ? कि खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धा पुरुषका लागि मात्रै थियो ? पौडेल भन्छिन्, ‘खुलामा कांग्रेसका जुनसुकै महाधिवेशन प्रतिनिधिले प्रतिस्पर्धा गर्न पाउँछ ।’ 

उसो भए पाैडेलले किन उम्मेद्वारी फिर्ता लिइन् त ? उनको तर्क छ, ‘म त खुलामै जित्ने मान्छे हो । तर, घर परिवार मिलाउन त्याग्नुपर्दो रहेछ । नेताहरूले सबैलाई मिलाउनुपर्ने भयो । पछि तपाईलाई मिलाउँछु भन्नुभयो । मैले फिर्ता गरेँ । नेताहरूले भनेको मान्नु परेन त ?’

आफ्नो खुलामै लड्ने इच्छा भए पनि अन्तिममा उम्मेद्वारी फिर्ता लिनुपरेको तर्क गर्ने पौडेल केन्द्रीय सदस्यमै मनोनीत हुने आशामा छिन् । कोटा पनि नरुचाउने उनी मनोनीत कोटाको पर्खाईमा छिन् ।

‘म कोटामा उठ्दिनँ भनेर खुलामै लड्न तयार भएँ । म  कोटा नरुचाउने मान्छे पनि हो,’ उनले भनिन्, ‘म आफैले खुलामा लड्छु भनेको हुँ । मैले फिर्ता नगरेको भए जित्थे । त्यही पनि माया गर्ने मान्छेले मत दिए ।’ कोटा नरुचाउने पौडेललाई ‘मनोनीत कोटा’को आशा किन ? उनले अगाडि भनिन्, ‘हुन त मनोनीत पनि कोटै हो । अब के गर्ने त ? नेताहरूले भनेको पनि त मान्नु पर्‍यो नि ।’ 

खुला महिला केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएकी डिला संग्रौला महिला महिलाबीच हुने प्रतिस्पर्धा भएपनि यसलाई खुला नै भन्नुपर्ने बताउँछिन् । पुरुषसँग लड्ने आँट किन आएन भन्ने प्रश्नमा उनले भनिन्, ‘खासमा म सहमहामन्त्रीको उम्मेदवार थिए । अन्तिममा सदस्यमा उम्मेदवारी दिनुपर्ने भयो, त्यसैले खुला महिलामा दिए ।’ महिला महिलाबीचको प्रतिस्पर्धा भएपनि खुला नै भएको उनको तर्क छ । 

कांग्रेस सहमहामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय डिना आउँदो महाधिवेशनमा खुलामा नै लड्ने बताउँछिन् । सहमहामन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले १३ औँ महाधिवेशनमा आफूले खुला केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिएको र आउँदो १५ औँ महाधिवेशनमा पनि जुन पदमा उम्मेदवारी दिएपनि खुलामा नै दिने दाबी गर्छिन ।

यसअघिको महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उनी पराजित भएकी थिइन् । उनी महिला कोटाबाट सहमहामन्त्रीमा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धीसँग पाँच सय बढी मतको अग्रतामा जितेकी उपाध्यायलाई पुरुषसँग लड्ने आँट नभएको हो त भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘अन्य धेरै महिला महिला कोटामा आउन चाहन्छन् अब यो कोटा म ओगटेर उम्मेदवारी दिन्‍न । अबका दिनमा खुलामा नै म प्रतिस्पर्धा गर्नेछु ।’ 

नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलिया खुलामा लड्न सक्ने क्षमता भएका महिला कांग्रेसमा रहेको दाबी गर्छिन् । थोरै मात्रै महिलाहरु राजनीतिमा क्रियाशील भएको र समावेसी कोटा पुर्‍याउन महिलाहरु अपुग भएकाले खुलामा उम्मेदवारी दिने महिला नभएको उनको तर्क छ ।

उनी भन्छिन्, ‘राष्ट्रिय रुपमा टक्कर दिने महिला नभएको हैन । तर वडा तहदेखि ३३ प्रतिशत पुर्‍याउँदै आउँदा सक्षम महिलाहरु नहुने र चुनाव जित्न सजिलो भएकाले खुलामा उम्मेदवारी दिन हिच्किचाउने प्रवृत्ति छ ।’ एउटा गुट समाउँदा गुटका नेताहरुले नै आश्वासन दिने हुँदा त्यही आश्वासनमा बस्दा सुरक्षित हुने भएकाले पनि महिलाहरु चुनावी प्रतिस्पर्धामा कम देखिने उनी बताउँछिन् । 

दोस्रो लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्य बनेकी पुष्पा भुसाल 'क्लस्टर'मा महिलाबाहेक कतै महिला नआएको कुरा स्वीकार्छिन् । 'जहाँ महिला लेखिँदैन, त्यो पुरूषका लागि मात्रै हो भन्ने मानसिकता छ,' उनले भनिन्, ‘महिला नलेखेको कारण पनि त्यो मानसिकता आयो ।’

भुसालले भनिन्, 'विधानमा आरक्षण छ । पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला पुग्नुपर्छ भन्ने छ । खुला भनेको जसले पनि लड्न सक्ने व्यवस्था हो । खुला महिला पनि छ । त्यहाँ जसले पनि लड्न सक्ने हो । तर, त्यहाँ पनि एउटा समुदायको मात्रै लडेको देखियो । एउटा वर्ग मात्रै लडेको देखियो ।' 

भुसालले पार्टीमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने र आफूहरु पदाधिकारीमा जान चाहेको बताइन् । 
 


Author

थप समाचार
x