सिनेमा

गायक प्रेमीसँग आनाको एडभेन्चर ‘डेट’

इकागज |
चैत १८, २०७८ शुक्रबार १३:१५ बजे

काठमाडौँ - अभिनेत्री आना शर्मा अंग्रेजी नयाँ वर्षदेखि गायक सुशान्त केसीसँग देखिन थालेकी छिन् । अनमोल केसीलाई छाडेर सोनम शेर्पासँग नजिकिएकी आना यतिबेला सोनमलाई पनि माया मारेर सुशान्तसँग डेट गरिरहेकी छिन् । यसको छनक दुवैले दिएका थिए नयाँ वर्षमा मुस्ताङ टुर हानेर ।


मुस्ताङमा उनीहरूले एकै ठाउँमा फोटो खिचेका थिए तर सँगै राखेका थिएनन् । मतलब उनीहरू आफूहरूको प्रेम ‘रिभिल’ गरिहाल्ने पक्षमा थिएनन् । तर भर्खरै भने दुवैले एकसाथ घुमेको र रमाइलो गरेको फोटो सार्वजनिक भएको छ । 

पोखराको हेम्जास्थिति हाइग्राउन्ड एडभेन्चरले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको फोटोमा आनालाई सुशान्तसँग जिप लाइनको मजा लिइरहेको देख्न सकिन्छ । योबाहेक दुवैले सँगै फोटो पनि खिचाएका छन् । यो जिप लाइनमा यसअघि थुप्रै सेलिब्रेटीले कावा खाइसकेका छन् । 

आनाको हातमा अहिले कुनै प्रोजेक्ट छैनन् । प्रवेश पौडेलले निर्देशन गर्ने भनिएको अनाम फिल्ममा उनले साम्राज्ञीराज्य लक्ष्मी शाह र मनिष राउतसँग काम गर्ने खबर सार्वजनिक भएको थियो । तर यो फिल्मको कुनै सुरसार छैन । यसैगरि अर्पण थापाको ‘लिम्बो’मा पनि आना रहने चर्चा थियो जसको काम पनि अगाडि बढेको छैन । 
यता सुशान्त केसी भने गायनमा सक्रिय छन् । अष्ट्रेलियाबाट फर्के गायनमा सक्रिय उनले केही समयअघि सार्वजनिक गरेको गीतमा आनाले अभिनय गरेकी थिइन् । 


Author

थप समाचार
x