सिनेमा

‘फाइट क्लब’को चिनियाँ सेन्सर विवाद, लेखक खुसी, अमेरिका दुःखी

इकागज |
माघ १४, २०७८ शुक्रवार १२:२४ बजे

लसएन्जल्स- चीनको ओटिटीमा रिलिज भएको हलिउड फिल्म ‘फाइट क्लब’को विवाद पुस्तकका लेखकसम्म पुगेको छ । सन् १९९९ मा रिलिज भएको डेभिड फिन्चर निर्देशित यो फिल्म लेखक चक पाल्हानियुकको सोही नामको पुस्तकमा आधारित थियो ।

केही दिनअघि चीनमा ओटिटीमा यो फिल्म रिलिज हुँदा चीनको प्रशासनले यसको अन्त्य नै परिवर्तन गरिदियो । फिल्मको अन्त्यको भाग काटेर लामो न्यारेसन राख्यो । अमेरिकातिर यसको खुबै आलोचना भइरहँदा लेखक चकले भने चीनले राखेको अन्त्य आफूले सोचे जस्तै भएको बताएका छन् । 


फिल्मको अन्त्यमा एडवार्ट नोर्टनको चरित्रले आफ्नो अल्टर इगो ब्राड पिटलाई (टेलर डर्डेन) मार्छ र सहर जलेको हेरेर यो सभ्यता ध्वस्त पार्ने आफ्नो लक्ष्य पूरा भएको भन्दै दंग पर्छ । तर चीनका दर्शकले भने यो दृश्य हेर्न पाउँदैनन् ।

फिल्म बीचमा सकिन्छ र त्यहाँ सन्देश आउँछ, ‘प्रहरीले एडवार्डको योजना थाहा पाएर अपराधीलाई समात्छ र सहर ध्वस्त बनाउन राखिएका बम निस्तेज बनाउँछ । अदालतमा टेलरलाई दोषी करार गर्दै पागलखाना पठाइन्छ । त्यहाँ उपचार पछि टेलर सन् २०१२मा त्यहाँबाट निस्कन्छ ।’

चकले अंग्रेजी पत्रिकासँग कुरा गर्दै चीनले ठ्याक्कै आफूले सोचेजस्तै अन्त्य गरेको बताएका छन् । ‘मलाई अचम्म लागेको छ कि चिनियाँले मैले सोचे जसरी नै फिल्मको अन्त्य गराएका छन् । डेभिड फिन्चरले किताबभन्दा पर गएर फिल्म बनाएका थिए । अहिले यो अन्त्यले फिल्मलाई किताबको नजिक ल्याइपुर्याएको छ,’चकको भनाइ छ । 
उनले अहिले चीनको सेन्सरसिपलाई लिएर उठेको विवादमा पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफूले जीवनभर अमेरिकामै सेन्सरविरुद्ध लडेको बताउँदै अमेरिकामै जेलमा आफ्नो पुस्तक बन्देज गरिएको दृष्टान्त पेस गरेका छन् ।

यसैगरी पुस्तकालयमा पनि आफ्नो पुस्तक बन्देज गरिएको पनि गुनासो गरेका छन् । यसले अहिले चीनले फिल्ममा सेन्सर गर्यो भनेर टाउको दुखाउन जरुरी नभएको उनको धारणा छ । यो फिल्म चीनको सबैभन्दा ठूलो ओटिटी प्लेटफर्म टेनसेन्ट भिडियोमा सार्वजनिक भएको थियो ।  


Author

थप समाचार
x