सिनेमा

सिनेमा समीक्षा

‘चपली हाइट ३’ : हाइटमा कि डेप्थमा ?

सामीप्यराज तिमल्सेना |
माघ २, २०७८ आइतबार १६:३४ बजे

‘परफेक्ट क्राइम सिन’, मुसा बिरालोझैँ लुकामारी खेल्ने नायक–प्रतिनायक (खलनायक) र रहस्यको सानदार उद्घाटन, संसारका राम्रा थ्रिलर फिल्मका मेरुदण्ड  मानिन्छन् । बहुमुखी दृष्टिकोण, समयको पाबन्दी र चरित्रको वृद्धि थ्रिलर फिल्मलाई बलियो बनाउन सघाउने तत्व हुन् । शुक्रबारदेखि हलमा आएको ‘चपली हाइट ३’ मा उल्लिखित सबै कुरा छन् तर निर्देशकले सबैभन्दा सानदार हुनुपर्ने अन्त्यलाई फासफुस बनाएपछि यो फिल्म राम्रो बन्ने सम्भावना हुँदाहुँदै बिग्रिएको फिल्मको कोटिमा सामेल भएको छ । जुन नेपाली फिल्मको सवालमा नयाँ कुरा हैन, नियमित आकस्मिकता हो । 

अघिल्ला दुई शृंखलामा झैँ यो फिल्मको पनि सुरुवात हुन्छ चपली हाइटमा हुने एक अपराधबाट । झमझम पानी परिरहेको साँझ कतैबाट फर्किरहेकी श्रद्धा (स्वस्तिमा खड्का)माथि नकाबधारी तीन जनाले बलात्कार प्रयास गर्छन् तर बीचैमा सो बाटो हुँदै फर्किरहेका नौजवान पारस (आमिर गौतम) श्रद्धाको उद्धारका लागि आइपुग्छन् । तर नकाबधारीसँगको घम्साघम्सीमा पारस मारिन पुग्छन् । अनाहकमा भएको एउटा हत्याको साक्षी बस्न पुगेकी श्रद्धाको वरिपरि रोटेपिङझैँ घुम्ने यही हत्याको कथा हो ‘चपली हाइट ३’ ।


फिल्ममा श्रद्धाझैँ महत्वपूर्ण भूमिकामा छन् इन्सपेक्टर प्रह्लाद मिश्र (महेश त्रिपाठी) जो यो हत्याको रहस्य सुल्झाउने जिम्मेवारीमा छन् । तर फिल्मको एउटा कमजोरी प्रह्लादले यो रहस्य आफ्नो अनुसन्धानको बलमा सुल्झाउँदैनन् । लेखक निर्देशक आफैँले सारा रहस्य दर्शकलाई बताउँछन् जबकि थ्रिलर फिल्ममा थर्ड एक्ट भनिने यो क्षणमा नायकको चतु¥याइँले यो रहस्यको पर्दा उघ्रनु उत्तम मानिन्छ ।  

अघिल्ला दुई फिल्म कमेडी विधामा बनाएका निकेश खड्काको ‘चपली हाइट ३’ तेस्रो निर्देशकीय प्रयास हो । ‘जिन्दगी रक्स’ र ‘फाटेका जुत्ता’ बनाएका निकेश खड्काले यो फिल्ममा थ्रिललाई केन्द्रमा राखेर कथा अगाडि बढाउने प्रयास गरेका छन् । पटकथाको भाषामा भन्दा फस्ट एक्ट र सेकेन्ड एक्टमा उनले गज्जब नियन्त्रण देखाएका छन् तर माथि भनिएझैँ फाइनल थर्डमा त्यही लय कायम गर्न नसक्दा यो फिल्म फेरि एक पटक ‘इमानदार प्रयास’को क्वोट–अनक्वोटभित्र खुम्चन पुगेको छ । तर उनले यो विधालाई निरन्तरता दिए खाली प्रायः रहेको यो विधामा फिल्म बनाउन सक्ने उम्दा निर्देशक उद्योगले पाउनेमा भने विश्वस्त हुन सकिन्छ । 

थ्रिलर फिल्ममा सस्पेन्स र ट्वीस्टको ठूलो भूमिका हुन्छ । लेखक आकाश बराल र निर्देशक निकेश खड्काले पहिलो हाफमा यी दुवै कुराको खुराक राम्ररी पस्केका छन् । दोस्रो हाफको पनि पूर्वाद्र्धसम्म पनि फिल्मले घरिघरि ‘एजी’ थ्रिलरको आभास दिलाउँछ तर फिल्मको क्लाइमेक्समा भने लेखक÷निर्देशक दुवै ‘हुक र होल्ड’ले तयार गरेको पृष्ठभूमिलाई ‘पे अफ’ गर्न चुकेका छन् । कतिसम्म भने फिल्मको एन्ड क्रेटिड टाइटल चलिरहँदा फिल्मका केही रहस्य ‘अनफोल्ड’ भइरहेका छन् । एन्ड क्रेडिट टाइटलपछि आउने दृश्य दर्शकले जानकारी नलिँदा पनि हुने दृश्यको सूचीमा राख्छन् तर चपली हाइटमा यही समयमा अपूरा रहस्य भटाभट सुल्झाइन्छन् ।   

फिल्ममा अर्को समस्या बनेको छ, मूल कथा । हत्याको घटनाबाट सुरु हुने यो फिल्म यसैमा मात्र सीमित छैन, बीचमा यसमा बलात्कार जोडिन्छ र अन्त्यमा यो फिल्म ‘हाइस्ट’का रूपमा सकिन्छ । हत्या कसले गर्यो भन्ने रहस्योद्घाटनको प्रतीक्षामा रहेका दर्शक बलात्कार हुँदै हिराको कथामा पनि अल्झन पुग्छन् । हलबाट निस्कँदा दर्शकलाई अन्यौल भइरहन्छ, खासमा फिल्मको मूल कथा कुन हो ? तह थप्ने क्रममा लेखक÷निर्देशकले कथालाई गुजुल्टाइदिएका छन् जुन बुझ्नलाई दर्शकले आफ्नै कल्पनाशीलताको भर पर्नुपर्छ । प्रिया (सुपुष्पा भट्ट) किन फिल्ममा छिन् र कसरी गायब हुन्छिन् ? जीवन भट्टराईको चरित्र र श्रद्धाको सम्बन्ध के हो ? यस्ता केही उल्लेख्य प्रश्न हुन् जुन फिल्ममा उनुत्तरित छन् ।  

सिनेमाको ‘हाइट’ त्यति बेला बढ्छ, जब निर्देशक-कलाकार गहिराइमा डुब्छन् । ‘हाइट’ र ‘डेप्थ’ बीच हेर्दा उल्टो तर यथार्थमा सुल्टो सम्बन्ध हुन्छ ।

फिल्मका मुख्य चरित्रमा ‘एम्प्याथी’ (समभाव) नजानु यो फिल्मको अर्को दुर्बल पक्ष हो । फिल्ममा पर्दाभरि छाइरहने इन्स्पेक्टर प्रह्लादलाई बाह्य र आन्तरिक समस्यामा रहेको पीडित देखाउने प्रयास गरिएको छ । प्रहरीको जागिरबाट प्रशस्त पैसा कमाएर घर बनाउन नसकेको बहानामा श्रीमती र छोरीले छाडेको उसको पृष्ठभूमि छ । यही कारण अपराधीबाटै पैसा लिएर पनि ऊ काठमाडौँमा घर बनाउने ध्याउन्नमा छ । तर मुख्य चरित्रलाई यसरी भ्रष्ट देखाउँदा प्रह्लादको चरित्रले सहानुभूति पाएको छैन । भलै पछि उसले पैसा फिर्ता गर्छ तर उसले इमानदार भएकाले पैसा फिर्ता गरेको हैन, अपराधीको काम फत्ते गर्नुपर्ने दबाब झेल्न नसकेकाले फिर्ता गरेको हो । यही समस्या श्रद्धाको चरित्रमा पनि छ । उनलाई कुमार नगरकोटीको ‘मिस्टिका’ पढिरहेको देखाइन्छ ।

उनले यही उपन्यासमा रहेको पात्रकै आधारमा एउटा काल्पनिक पात्र खडा गरेको देखिन्छ । यसको मतलब उनी धेरै चलाख हुन् । तर उनको चलाख्याइँ प्लट अगाडि बढाउन भने सहायक सिद्ध भएको छैन । न त ती घटना प्रह्लादको अनुसन्धानले लिड गर्छन् न श्रद्धाले छाडेका क्लुले । यसैगरी श्रद्धाको चरित्र निर्माणको पृष्ठभूमिसँग दर्शक अन्जान हुनाले उनलाई पनि दर्शकले आफू नजिक पाउँदैनन् ।

अभिनयको कुरा गर्दा महेश त्रिपाठीले केही दृश्यमा राम्रो अभिनय गरेका छन् तर उनको चरित्र बेला बेलामा भड्किरहेको महसुस हुन्छ । सम्पादनमा अघिल्लो र पछिल्लो दृश्यको ट्रान्जिसन नमिल्दा बेला बेला यत्तिकै चिच्याएको महसुस हुन्छ । अघिल्लो दृश्यले उठाएको तनावलाई लगत्तैको दृश्यमा सहजै प्रसारण नगर्दा यो समस्या आएको हो । त्यसैगरी उनले फिल्मभरि प्रयोग गर्ने ‘इधर उधर’ ‘लाइटमोटिफ’ पनि ठाउँ कुठाउँ बोल्दा बढी भएको महसुस भएको छ । 

सुपुष्पा भट्ट, लक्ष्मी बर्देवा र दीपाश्री निरौलाको भूमिका पनि फिल्ममा स्थापित छैनन् । बरु केही दृश्यमा आउने अर्पण थापाले दर्शकको सातो लिन्छन् । यसैगरी प्रतीकमान श्रेष्ठले निर्वाह गरेको सब इन्स्पेक्टरको भूमिकाले पनि कथालाई फाइदा पुर्याएको छैन । श्रद्धाको चरित्रप्रति सहानुभूति राख्ने प्रतीकमानको चरित्रले न कथामा समस्या सिर्जना गरेको छ, न समाधानमा बल पुर्याएको छ ।
फिल्मभरि छाउने स्वस्तिमाको चरित्रमा लेखक÷निर्देशकले दुई रङको परिकल्पना गरेका छन्, एउटा त्रस्त र अर्को धूर्त । त्रस्त हुने सवालमा स्वस्तिमाले ठीकै अभिनय गरेकी छिन् तर धूर्त हुने ठाउँमा त्यो रस राम्ररी निस्किएको छैन । यही कारण पनि दर्शकमा फिल्मको अन्त्य अपर्झट भएको महसुस हुन्छ । 

प्राविधिक रूपमा भने फिल्म तगडा छ । फिल्मको पहिलो दृश्यदेखि नै छायाँकार पुरुषोत्तम प्रधानले थ्रिलरको मुड सेट गरेका छन् । चरित्रको अस्थिर मनोविज्ञान जनाउन केही दृश्यमा उनले सुन्दर डच एंगलको पनि सिर्जना गरेका छन् । नोबल फ्रिक्सको पाश्र्व संगीत पनि फिल्मको लय सुहाउँदो छ । 

नेपालमा विधागत फिल्म निर्माणको अभ्यास अत्यन्त कम छ । एउटै फिल्ममा कम्तीमा तीन–चार विधा कोचेर निर्देशकले फिल्म बनाइरहेका छन् । यस्तो अवस्थामा निर्देशक खड्काले ‘क्राइम थ्रिलर’को विधा वरिपरि रहेर मात्र पनि हेरुन्जेल ‘बोर’ नलाग्ने फिल्म बनाएका छन् । १ घन्टा ५० मिनेट छेउछाउको फिल्ममा तपाईंले ‘लु ब्रेक’ लिई हाल्न पर्दैन । तपाईं थ्रिलर विधाको पारखी हुनुहुन्छ भने हलिउडका ‘सेभेन’, ‘मुलहोल्यान्ड ड्राइभ’, ‘गोन गर्ल’ जस्ता फिल्म बिर्सेर जानुस्, ठीकै मजा आउँछ । 

सिनेमाको ‘हाइट’ त्यति बेला बढ्छ, जब निर्देशक-कलाकार गहिराइमा डुब्छन् । ‘हाइट’ र ‘डेप्थ’ बीच हेर्दा उल्टो तर यथार्थमा सुल्टो सम्बन्ध हुन्छ ।

निर्देशक : निकेश खड्का
लेखक : आकाश बराल
छायांकार : पुरुषोत्तम प्रधान
सम्पादन : दीर्घ खड्का 
कलाकार : स्वस्तिमा खड्का, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, सुपुष्पा भट्ट, लक्ष्मी बर्देवा, जीवन भट्टराई, आमिर गौतम आदि ।  


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x