सिनेमा

जीवनमा दुःख छ, दुःख देखाउनलाई सिनेमा छ

सामीप्यराज तिमल्सेना |
पुस १२, २०७८ सोमवार १५:३० बजे

बसबाट झरेका यात्रुलाई आफ्नो होमस्टेमा पुर्याउन युवक र महिला प्रतिस्पर्धामा छन् । १५ सयबाट सुरु भएको मोलमोलाइ ५ सयमा आएर सकिन्छ । युवकले ८ सयभन्दा कममा राख्न नसकिने बताइरहेका बेला महिलाले ५ सयमा राख्छु भनेपछि यात्रु महिलाको ठेगाना रोज्छन् । 

यात्रुको गह्रुँगो झोला बोकेर महिला गन्तव्यतर्फ ठमठम हिँड्छिन् । फुक्काफाल यात्रु आफ्नो बोझ आफैँ बोकेर हिँड्नुको साटो सेल्फीमा रमाउँछन् । पहाडको अप्ठेरो बाटो छिचोल्दै महिलाले यात्रुलाई आफ्नो होमस्टेमा पुर्याउँछिन् । 


भारतीय फिल्म ‘फायर इन दिन माउन्टेन’को पहिलो दृश्य हो यो । पहिलो दृश्यमा नै  फिल्मको कथा विरलै फिल्ममा देख्न पाइन्छ । तर नवप्रवेशी अजितपाल सिंहले निर्देशन गरेको ८३ मिनेटको फिल्म ‘फायर इन दि माउन्टेन’ले  पहिलो दृश्यमा नै बाँकी ८० मिनेटको कथा सर्लक्क बताइदिन्छ । कथाको मियो बनेको अप्ठेरो भूगोल मात्र होइन, भूगोलमा पाइने चट्टानझैँ अधबैँसे चन्द्रा (विनम्रता राई)को दृढ निश्चय पनि पहिलो दृश्यमै स्थापित हुन्छ । 

‘फायर इन दि माउन्टेन’ ८३ मिनेट खर्चिएर बुनिएको यही चन्द्राको कथा हो । चन्द्राको कथा बताइरहँदा फिल्मले हिमालय क्षेत्रमा महिलाको दर्दनाक अवस्था मात्र बताउँदैन, विगत केही वर्षयता नरेन्द्र मोदीको गफले सिन्को पनि नभाँचेको यथार्थ पनि बयान गर्छ । मोदीले समृद्धिका ठूलठूला गफ गरिरहँदा भारतको ग्रामीण क्षेत्रका मानिसको जीवन झन् बढी कष्टकर हुँदै गएको छ । घरको सम्पूर्ण ‘लोड’ बोकेर हिँड्ने महिलालाई मोदीका गफले गिज्याइरहेको प्रतीत हुन्छ । 

उत्तराखण्डको मुनसयारी गाउँमा श्रीमान्, दुई छोराछोरी र विधवा नन्दका साथ बस्ने चन्द्राले होमस्टे चलाउँछिन् । तर यही होमस्टे चलाउन पनि उनलाई न श्रीमान्को साथ छ न नन्दको । त्यसमा ‘मानमाथि भुक्तमान’ भनेझैँ दुर्घटनामा घाइते बनेर ह्वीलचेयरमा बस्ने छोरा प्रकाश (सोनल झा) लाई अस्पतालदेखि स्कुलसम्म पुर्याउने दायित्व पनि चन्द्राकै काँधमा छ । चन्द्राले गर्नुपरेको यो दुःखमा साथ दिनुको साटो श्रीमान् धरम (चन्दन विष्ट) भने उल्टै चन्द्राले आफूलाई घरमूली नठानेको कुण्ठा बोकेर बसेको छ । यही तुषमा ऊ हरेक दिन रक्सी पिएर आउँछ र चन्द्रा दच्काउँछ । 

बाटो अप्ठेरो भएका कारण चन्द्रालाई छोरालाई अस्पताल र स्कुल पुर्याउन गाह्रो छ । बाटो राम्रो नहुँदा नै होमस्टेमा पनि ग्राहक आउन नमान्ने चन्द्राको अनुभव छ । त्यसैले चन्द्राको जीवनमा एउटै उद्देश्य छ, पैसा जम्मा गरेर बाटो बनाउने । गाउँको प्रधानले ४ वर्षदेखि बाटो बनाउने आश्वासन दिए पनि बाटो बन्न सकेको छैन । अब भने चन्द्रा आफैँ बाटो बनाउन तातिएकी छ ।

तर उसको श्रीमान् धरम भने घरमा भूतप्रेत र पिशाचको बास भएकाले चन्द्राले जम्मा गरेको पैसाले ‘जगर’ (धामी लगाउने) ध्याउन्नमा छ । पारिवारिक संघर्षको कथा गर्दागर्दै फिल्मले यो क्षेत्रमा विद्यमान रुढिवादिता र आधुनिकताको विषयलाई पनि उजागर गरेको छ । चन्द्राको चरित्रलाई खिपेका निर्देशकले यो मामलामा चन्द्रालाई अग्रगामी देखाएर चन्द्रालाई थप सहानुभूतिशील बनाएका छन् । 

चन्द्राको जीवनमा दुःखका खात छन् । एकातिर जँड्याहा श्रीमान् अर्कोतिर नन्दसँगको कचकच । ठूली भएकी छोरी केटासँग सल्किएर टिकटक बनाउने व्यसनमा छे । अनि अर्को छोरो हिँडडुल गर्न नसक्ने । तर पनि चन्द्रा विचलित छैन । बाटो बनाएर सबै समस्याको एक साथ मुक्ति पाउने उसको लक्ष्य छ तर परिणाम सोचे जस्तो पाउँदिन । चन्द्राको सपना कसरी अन्धविश्वासको भुङ्ग्रोमा परेर खरानी हुन्छ, फिल्मले सानदार शैलीमा प्रस्तुत गरेको छ । 

छोरालाई बोकेर हरेक चोटि अस्पताल जाँदा छोरा प्रकाशले बाटोमा फुलिरहेको फूल चुँडेर आमाको कपालमा सिउरिदिने दृश्यले पनि आमा–छोराको सम्बन्धलाई गहिरो बनाएको छ । 

सन्डान्स फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको यो फिल्म निर्देशक अजितपालले आफैँले देखेको घटनामा आधारित छ । उनले आफ्ना एक जना दिदीलाई भूत–प्रेत लागेको आशंकामा श्रीमान्ले अस्पताल नलैजाँदा उनको मृत्यु भएको घटनाबाट प्रेरित भएर यो कथा बनाएको बताएका छन् । तर उनले कथामा धार्मिक अन्धविश्वासको पोल मात्र खोलेका छैनन् ।

भारतको विकासको बहसलाई नै सतहमा ल्याएका छन् । जस्तो कि चन्द्राले चलाउने होमस्टेको नाम ‘स्विजरल्यान्ड’ छ । तर कहाँ युरोपको सम्पन्नता देखाउने स्विजरल्यान्ड अनि कहाँ गतिलो गोरेटो बाटो नभएको चन्द्रोका स्विजरल्यान्ड होमस्टे ? उनले रेडियोमा आउने सरकारी समाचारको माध्यमबाट पनि सत्ताधारीका गफ र साधारण जनताको परस्पर विरोधी अवस्थालाई उजागर गरेका छन् । 

भर्खरै दिवंगत भएकी कमला भासिन भन्छिन्- पितृसत्ता समाज निर्मित यस्तो संरचना हो जसले पुरुषलाई धन–सम्पत्तिको मात्र नभएर महिलाको पनि मालिकका रूपमा व्याख्या गर्छ । जीवनदर्शनदेखि सानाभन्दा साना निर्णय गर्नमा पनि उसको हात माथि हुनुपर्ने भाष्य निर्माण गर्छ । पछिल्लो समय त पितृसत्ताले पुरुषलाई अमानवीकरण गर्दै गइरहेको पनि उनको जिकिर थियो । कमला भासिनका यी तर्कलाई प्रमाणित गर्ने थुप्रै तथ्य फिल्ममा देख्न पाइन्छ । 

फिल्ममा चन्द्राको श्रीमान् धरम सिन्को पनि भाँच्दैन जबकि चन्द्राले कमाएर घर चलाउनेदेखि केटाकेटीको हेरचाहसम्म पनि गरिरहेकी छे । तर चन्द्राको यो दुःखमा सारथि बन्नुको साटो धरम भने आफूलाई चन्द्राले घरको मालिक नमानेको निहुँमा चन्द्रालाई रगतपच्छे हुने गरी कुट्छ र चन्द्राले लुकाइराखेको पैसाले धामी लगाउँछ । पितृसत्ताको यो गुण छोरा प्रकाशमा पनि सञ्चारित भएको देख्न सकिन्छ । फिल्मको बीचतिर गएपछि थाहा हुन्छ, हिँड्ने नसक्ने नाटक गरिरहेको प्रकाश वास्तवमा हिँड्न सक्छ तर पनि आमालाई थप दुःख दिन ठीक नभएको नाटक गरिरहेछ ।

निर्देशक सिंहले यो कथालाई पर्याप्त समय दिएका छैनन् तर फिल्ममा यो सत्य उद्घाटन हुने दृश्य सम्झँदा चन्द्राको औधी माया लाग्छ । छोरालाई अस्पताल लैजान, स्कुल लैजाउन आमा खुन बगाइरहेकी छे तर छोरो उल्टै सानासाना कुरामा आमासँग रिसाएर बसिरहेको छ । पितृसत्ताले पुरुषलाई अमानवीय बनाउने भासिनको तर्कसँग मिल्ने योबाहेक दोस्रो उदाहरण सायदै पाइन्छ । 

फिल्म वास्तविक लोकेसनमा छायांकन गरिएको छ । विश्वजनीन मुद्दा उठाउँदा उठाउँदै पनि निर्देशक सिंहले पारिवारिक मूल्य मान्यतालाई मिहिन गरी प्रस्तुत गरेका छन् । परिवारमा सबैको आआफ्नो ताल छ तर पनि प्रेम छ । श्रीमान्सँग बारम्बार दन्तबझान गरिरहने चन्द्रा माया पनि उत्तिकै गर्छे । खाना छाडेर हिँडेको धरमलाई चन्द्राले कर गरेर ख्वाएको र बाध्य भएर मीठो छ भनेको जस्ता दृश्यले भारतको पारिवारिक मूल्य–मान्यतालाई फिल्मले आत्मसात् गरेको छ । यसैगरी छोरालाई बोकेर हरेक चोटि अस्पताल जाँदा छोरा प्रकाशले बाटोमा फुलिरहेको फूल चुँडेर आमाको कपालमा सिउरिदिने दृश्यले पनि आमाछोराको सम्बन्धलाई गहिरो बनाएको छ । 

फिल्मको केन्द्रमा चन्द्रा छे र चन्द्राको रूपमा विनम्रता राईले उत्कृष्ट अभिनय गरेकी छिन् । फिल्म हेरिरहँदा एक झमट पनि लाग्दैन कि उनले अभिनय गरेकी छिन् । माया, प्रेम, करुणा, कठोरता सबै भाव सहजताका साथ प्रस्तुत गरेकी छिन् । त्यसैगरी धरमका रूपमा चन्दन विष्ट र केटाकेटीका रूपमा हर्षिका तिवारी र सोनलले पनि उम्दा अभिनय गरेका छन् । सोनलका उदास आँखाबाट निर्देशकले धेरै कुरा बताउन खोजेका छन् । ह्वील चेयरमा बसेर सारा दृश्य नियाल्ने सोनलले भनिरहे जस्तो लाग्छ, हाम्रो संघर्षले कुनै परिणाम दिने छैन । प्रयत्न गर्नु बेकार छ ।

भारतको गरिबी र पारिवारिक संघर्षलाई प्रस्तुत गर्नमा सत्यजित रेले दुनियाँलाई कायल बनाएका थिए । जापानमा हिरोकाजु कोरेइदाले परिवारको कथालाई यसरी नै प्रस्तुत गरेका छन् । पहिलो फिल्ममा अजितपाल उनीहरूको हाराहारी आउन सकेका त छैनन् तर यो बाटोमा हिँडिरहे, उनीहरूका अनुयायी पक्का बन्नेछन् । 

हिन्दी भाषामा बनेको भए पनि यो फिल्म हेरिरहँदा नेपाली फिल्म हेरिरहेको भान हुन्छ । किनकि विनम्रता राई र चन्दन विष्टको अनुहार हामीसँग मिल्छ । परिवेश पनि मिल्छ । तर कथा सबैभन्दा धेरै मिल्छ । हाम्रोमा महिलाका दुःखका खात छन् तर ‘जा है’ भनेर चुकचुकाउने पुरुष स्वर छैनन् । सानासाना कुरामा कुट्ने हात छन् तर साथ दिने हात छैनन् । ‘फायर इन दि माउन्टेन’ आजदेखि पोखरामा सुरु पामे फेस्टिभलको ५ औँ संस्करणमा प्रदर्शन हुँदै छ । यो फिल्म फेस्टिभलको अन्तिम दिन ‘क्लोजिङ फिल्म’को रूपमा ३१ तारिख (१६ गते) बेलुकी ५.३० मा लेकसाइडमा खुल्ला ठाउँमा देखाइँदै छ ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x