सिनेमा

पूजा छुटेपछि पुरानासँग जुट्दै सुदर्शन थापा

इकागज |
मंसिर ७, २०७८ मंगलबार १३:१ बजे

काठमाडौँ - अबको केही समयपछि सन्तोष सेनको फिल्मको निर्देशक सुदर्शन थापा घोषित भए भने अचम्म नमान्दा हुन्छ । दुवैले सोमबार स्ट्याटससहित सामूहिक तस्बिर राखेर यसको संकेत दिइसकेका छन् ।

तर, यो कुराको समाचार किन बनाउनु पर्‍यो भने ‘प्रेमगीत’ रिलिजपछि दुवैबीचको सम्बन्ध इजरायल र प्यालेस्टाइन जस्तो थियो । एक अर्कालाई सिध्याएर मात्र छाड्ने किसिमको । यो झगडाको केन्द्रमा थिइन्, अभिनेत्री पूजा शर्मा । सुदर्शनले नै डेब्यु गराएको भए पनि यो लडाइँमा प्रदीप खड्काले सन्तोष सेनलाई साथ दिए । एकातिर सुदर्शन र पूजा अनि अर्कोतिर प्रदीप र सन्तोष सेन । 


फास्ट फरर्वाड । केही समयअघि सुदर्शनले मोडल सुप्रिया कटवालसँग इंगेजमेन्ट गरे । इंगेजमेन्टमा पूजाले सुदर्शनबाट निम्तै पाइनन् । दुनियाँबाट यो कुरा लुकाउन पूजाले सुदर्शनकै इंगेजमेन्टको दिन म्युजिक भिडियोको सुटिङ राखेकी थिइन् । तर त्यो भिडियो पनि बनेन । पूजा त्यो दिन फुर्सदमा थिइन् । सुदर्शन र पूजाको सम्बन्ध अमिलो भएको यो ठूलो प्रमाण थियो । 

यति मात्र होइन पूजासँग पानी बाराबार भएका पत्रकार प्रकाश सुवेदीको कार्यक्रममा सहभागी भएर सुदर्शनले सम्बन्ध सुधारको अभियानलाई तीव्रता दिएको प्रमाण थियो । यसको केही समय अघि मात्र सुदर्शन नै प्रकाश सुवेदीको कार्यक्रम बन्द गराउनुपर्ने अभियानमा थिए ।

किनकि प्रकाश सुवेदीले पूजालाई कार्यक्रममा उनको शारीरिक बनौटलाई लिएर टिप्पणी गरेका थिए । पूजा र सुदर्शनले कलाकार संघको समेत साथ लिएर प्रकाश सुवेदीलाई माफी माग्‍न बाध्य बनाएका थिए । 

सोमबार सुदर्शन र सन्तोष सेनले पालैपालो एकै तस्बिर सेयर गरे । सार्वजनिक समारोहमा धेरै पटक दुवैका कुम ठोक्किएका होलान् तर सामाजिक सञ्जालमा नै भेटघाटको तस्बिर राख्नुले बताउँथ्यो, पूजाका कारण सुरु भएको तीतो दुवै अब बिर्सन चाहान्छन् । प्रकाश सुवेदीपछि सन्तोष सेन सुदर्शनले सपारेको अर्को सम्बन्ध थियो ।

यति मात्र होइन, बीचको समयमा उनले निर्माता पुनम गौतमदेखि सम्बन्ध बिग्रिएका धेरैसँग सम्बन्ध सुधारेका छन् । विगतका धेरै उदाहरणले देखाएका छन्, सिनेमा क्षेत्रमा कोही कसैको दीर्घकालीन शत्रु हुँदैन । मित्र पनि हुँदैनन् त्यो अलग कुरा हो । तर हामी त चाहान्छौँ, रचनात्मक मानिसहरू झगडा गरेकोभन्दा मिलेकै बेस !


Author

थप समाचार
x