सिनेमा

५ सय करोडको ‘आदिपुरुष’, ६८ करोड कमाए जानेछ नाफामा

इकागज |
जेठ २०, २०८० शनिवार १३:११ बजे

मुम्बई - प्रभास र कृति सेननको मुख्य भूमिका रहेको ‘आदिपुरुष’ आउँदा जुन १६ मा रिलिज हुँदैछ । रामायणलाई हुबहु उतारिएको यो फिल्मलाई अहिलेसम्मकै महंगो बलिउड फिल्म मानिएको छ । यो फिल्मको निर्माण बजेट ५ सय करोड हो । बलिउडका लागि पनि यो रकम धेरै नै खर्चिलो मानिन्छ । किनकि नपत्याउँदो गरी चल्दा पनि शाहरुख खानको ‘पठान’ले भारतबाट मात्र ५ सय करोड कमाएको थियो । भारतमा पनि नचल्ने फिल्मले १ करोड पनि कमाउँदैनन् । यस्तोमा निर्माणमा मात्र ५ सय करोड खर्चनु सानो जोखिम हैन । तर ‘आदिपुरुष’ले यो जोखिम मात्र लिएन, रिलिज अगावै फिल्मको ८५ प्रतिशत बजेट पनि रिकभर गरिसकेको छ । 

समाचारअनुसार यो फिल्मले नन थियाट्रिकल अधिकार बेचेवापत् २ सय ४७ करोड पोल्टामा पारिसकेको छ । यसैगरी दक्षिण भारतबाट फिल्मले १ सय ८५ करोड पाउने सम्झौता भइसकेको छ । दक्षिण भारतका वितरकले यो फिल्मलाई मिनिम ग्यारेन्टीमा १ करोड ८५ लाख दिने सम्झौता भइसकेको छ । यो क्षेत्रको कुल रकम जोड्दा ४ सय करोड ३२ हुन आउँछ । यसरी अब ६८ करोड मात्र कमाउने हो भने फिल्मले लगानी सुरक्षित गर्छ । योभन्दा बाँकी रकम निर्माताको खुद नाफामा जानेछ ।


तर फिल्मको ट्रेलर र गीतको हाइपले यो फिल्मले ५ सय करोज सजिलै कमाउने अपेक्षा गरिएको छ । किनकि टिजरमा गाली पाएका निर्देशक ओम राउतले ट्रेलर र गीतमा आफूलाई मज्जाले सच्याएका छन् । महाभारत र रामायण जस्ता ग्रन्थमा दर्शकको रुचि पनि गहिरो रहेकाले यो कारणले पनि दर्शक हलमा ओइरिने अनुमान गर्न सकिन्छ । टेलिभिजनका लागि बनाइएका यी दुवै ग्रन्थका सिरिजले ऐतिहासिक दर्शक पाएका थिए । फिल्म ‘आदिपुरुष’मा प्रभास र कृति सेननले रामसीताको भूमिका निर्वाह गरेका छन् भने सैफअली खान रावण बनेका छन् । 


Author

थप समाचार
x