सिनेमा

आइतबार कान्सको मैझाराे : फेस्टिभलमा कसले के जिते ?

इकागज |
जेठ १४, २०८० आइतबार ११:४१ बजे

कान्स -  जस्टिन ट्राएट निर्देशित सिनेमा ‘एनाटोमी अफ अ फल’ले नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न कान्स फिल्म फेस्टिभलमा ‘पाम डी अर’ जितेको छ । रहस्यमय हत्याको गुथ्थी सुल्झाउने सिनेमालाई रुबेन ओसलुन्ड जुरी प्रमुख रहेको निर्णायक समितिले कान्सको सर्वोत्कृष्ट पुरस्कार ‘पाम डी अर’ दिने निर्णय गरेका हुन् । 

जस्टिनले प्रतिस्पर्धामा रहेका २१ फिल्मलाई उछिन्दै पहिलो पुरस्कार जितेकी हुन् । फेस्टिभलमा वेस एन्डरसन र केन लोच जस्ता पूर्व विजेताका फिल्म पनि प्रतिस्पर्धामा रहेका थिए । 


जस्टिन कान्सको सर्वोत्कृष्ट पुरस्कार जित्ने तेस्रो महिला निर्देशक भएकी छिन् । कान्स सन् १९५५ देखि आयोजना हुँदै आएको छ । थ्रिलर श्रेणीको फिल्ममा जर्मन अभिनेत्री सान्ड्रा हुलरले अभिनय गरेकी छिन् । सान्ड्रा यो पटकको कान्समा कतिसम्म भाग्यमानी सावित भइन् भने दोस्रो भएको फिल्म ‘जोन अफ इन्टरेस्ट’ पनि सान्ड्राकै अभिनय रहेको छ । दोस्रो सर्वोत्कृष्ट पुरस्कार ग्रान्ड प्रिक्स जित्ने ‘जोन अफ इन्टरेस्ट’लाई ब्रिटिश निर्देशक जोनाथन ग्लेजरले निर्देशन गरेका हुन् । 

यही अंग्रेजी महिनाको १६ देखि २७ सम्म चलेको फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड भने भियतनामी फ्रेन्च निर्देशक ट्रान आन हुङले जिते । १९ शताब्दीको पृष्ठभूमिमा तयार भएको प्रेमकथामा जुलियट बिनोचेले अभिनय गरेकी छिन् । 

समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड भने जापानिज अभिनेता कोजी याकुसोको भागमा पर्यो । ‘परफेक्ट डेज’ फिल्मका लागि उनले यो पुरस्कार जितेका हुन् । 
अभिनेत्रीतर्फको अवार्ड भने टर्किस अभिनेत्री मेर्भे दिजदारको पोल्टामा गयो । यो फिल्मले गाउँमा पढाउने शिक्षकको कथा प्रस्तुत गर्छ । फिनल्यान्ड निर्देशक अकी कौरिसमाकीले निर्देशन गरेको ‘फलेन लिभ्स’ले जुरी अवार्ड पाएको थियो भने जापानिज निर्देशक हिरोकाजु कोरेइदाको निर्देशन रहेको ‘मन्स्टर’ले पटकथा विधाको अवार्ड जित्यो । फिल्मको पटकथा युजिसाका मोतोले लेखेका थिए । 

यो सालको कान्समा धेरै सेलिब्रेटी उपस्थित भएका थिए ।  फेस्टिभलको दौरान हलिउड हस्ती मार्टिन स्कारेसी, रबर्ट डी निरो, सिन पेन, क्वान्टिन टेरेन्टिनो, इसाबेल्ला रोजेलिनी आदिले रेड कार्पेटको शोभा बढाएका थिए । 


Author

थप समाचार
x