सिनेमा

'द बाइसाइकल थिफ’ र ‘पाथेर पाञ्चली’ जस्ता फिल्ममा काम गर्ने दयाको चाहाना

इकागज |
जेठ १३, २०८० शनिबार १२:४१ बजे

काठमाडौँ-  दुई हप्तापछि मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दाबी गरेका छन्  । शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले चलचित्र निर्माणको समयको नालीबेली  सुनाएका थिए ।

‘यो चलचित्र खिच्न गणेश हिमाल मुनिको रुबी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौँ’, उनले भने, ‘ राम्रै काम पनि भएको छ । मैले अभिनय गरेको राम्रा चलचित्रहरुमध्ये यो पनि एक हुनेछ । मौलिक विषयवस्तुलाई मौलिक रुपमा नै पस्किन खोजिएको चलचित्र हो यो ।’


कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूलाई जीवन्त रहीराख्ने चलचित्रमा अभिनय गर्न मन लागेको र यही चलचत्रिमा सो अवसर पाएको बताए  । उनले चलचित्रले समाजको कथावस्तु, भूकम्पका बेलाको वस्तुस्थिति र नागरिकका समस्यालाई विशेष उठान गरिएको बताएका थिए । त्यस्तै अभिनेता बुद्धि तामाङले प्राकृतिक विपद् भन्दापनि समाज र समाजका मानिसहरु झनै विपद् भन्दा चर्का छन् भन्ने कुरालाई चलचित्रमा देखाइएको बताए ।

सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा दयाले हाल प्रदर्शन भइरहेको आफ्नै अर्को चलचित्र ‘जारी’को समेत सन्दर्भ उल्लेख गर्दै लिम्बू समुदायको साँस्कृतिक पक्ष ‘जारी’ मा आएजस्तै ‘नीरफूल’ मा पनि त्यस्तै फरक समुदायको सांस्कृतिक स्वाद पाइने दाबी गरे । ‘चलचित्रमा म छोरी खोज्दै हिँडिरहेको हुन्छु’, उनले भने, ‘तर खोज्दै जाँदा त मेरो गाउँ नै पो हराइसकेको रहेछ ।’

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने फिल्ममा काम गर्न मन लागेको सुनाएका थिए। ‘नीरफूलबारे यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’ उनको भनाइ थियो , ‘यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’

तीनवर्ष अघि कोरोना महामारीका कारण रिलिज रोकिएको यो चलचित्र फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले दाबी गरेका थिए  । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय  छ ।

‘चलचित्रमा भूकम्प आउँछ, तर यो चलचित्र भूकम्पको कथा माथि होइन’, वलले स्पष्ट पार्दै भने , ‘हाम्रो समाज र जीवनमा आउने भूकम्प, करप्टेड सिस्टमले ल्याउने भूकम्प चाहिँ चलचित्रमा छ ।’ चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको संघर्षलाई देखाइएको छ । 

भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटिएको चलचित्र कोरोनाको कारणले प्रदर्शन हुन समय लागेको र त्यही कारणले निर्माण लागत पनि बढेको उनको भनाइ थियो। सचिन घिमिरे एसोसिएट निर्देशक रहेको  चलचित्रमा प्रमोद कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको  सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको  सङ्गीत दिनुभएको छ । यो चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदैछ ।


Author

थप समाचार
x