सिनेमा

तीन वर्षदेखि रुबिमा बाँचिरहेकी जसिता

इकागज |
चैत ९, २०७९ बिहीबार १०:११ बजे

काठमाडौँ- नायिका जसिता गुरुङले आफ्नो तेश्रो प्रोजेक्टको रुपमा फिल्म ‘आई एम ट्वान्टी वान’मा काम गरिन् । यो फिल्मको छायांकन भएको ३ वर्ष भैसकेको छ । यसपछि जसिताले एक रियालिटी सोको निर्णायक भएर काम गरिसकेकी छिन् ।

तर, जसितालाई ‘रुबि’ पात्रले अझै पनि छाड्न सकेकी छैनन् । सार्वजनिक कार्यक्रममा समेत जसिता ‘रुबि’ पात्रकै गेटअपमा हिड्ने गरेकी छिन् । फिल्मकी निर्देशक रेनशा वान्तवा राईले ‘आई एम ट्वान्टी वान’का लागि जसिताले ३ वर्षको समय दिएको बताइन् । भनिन्–‘कुनै पनि कलाकारले ३ वर्षसम्म एउटै प्रोजेक्टका लागि समय दिनु सामान्य कुरा होइन । जसिताले रुबि पात्रमा आफूलाई जिउनका लागि निकै मिहिनेत गरेकी छिन् ।’


आखिर, जसितालाई रुवि पात्रले यति धेरै किन छोएको होला ? जसिता भन्छिन्–‘म आफैसँग सपना देख्छु । फिल्ममा पनि रुबि यस्तो एक पात्र हो, जसले आफू भित्र नै सपना देख्छे । यसैले, मसँग रुबि नजिक छिन् । म रुबिलाई कहिले पनि छाड्न सक्दिनँ ।’

जसिताले ‘सुपर डान्सर’ नामक रियालिटी सोको निर्णायक भएर काम गरिन् । फिल्मको कथामा पनि आफूले गरेको मिहिनेत जस्तै यो रियालिटी सोमा पनि प्रतिस्पर्धीले गरेको मिहिनेतले आफूलाई भावुक बनाएको उनको अनुभव छ । उनी भन्छिन्–‘म  सुपर डान्सरका बाबु नानीहरुसँग धेरै पटक रोएकी छु । किनकि, मैले आई एम ट्वान्टी वानमा त्यही पात्र बाँचेको छु, जुन सुपर डान्सरका प्रतिस्पर्धीले बाँचेका थिए ।’

जसिताले आगामी दिनमा आफूले जति फिल्ममा काम गरेपनि ‘रुबि’ सधै आफ्नो मनमा बस्ने बताइन् । वैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुक, टिजर र गीत सार्वजनिक भएको छ । ‘रुबि’ पात्रको अझै पनि भूमिका खुलिसकेको छैन । आगामी दिनमा यो पात्रको चरित्र खुल्दै जादा दर्शक झनै उत्साहित हुने जसिताको भनाइ छ । 


Author

थप समाचार
x