सिनेमा

निभ्यो ‘परालको आगो’ तर रहनेछ प्रताप सुब्बाको ‘प्रताप’

सामीप्यराज तिमल्सेना |
चैत २, २०७९ बिहीबार १७:११ बजे

काठमाडौँ -  भनिन्छ ‘परालको आगो’ छिट्टै दन्किन्छ र छिट्टै निभ्छ । तर ‘परालको आगो’का निर्देशक प्रताप सुब्बाको प्रताप ४० कटेसी निभेको छ । लगभग आजभन्दा ठ्याक्कै ४० वर्षअघि ‘परालको आगो’को रुपमा प्रताप सुब्बाको प्रताप सुरु भएको थियो । सुब्बा राजनीतिक सिमानाभन्दा बाहिर रहेर नेपालीत्व जगाउने दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक÷निर्देशक थिए ।

योसँगै भारतबाट कला प्रधान सिनेमाको वकालत गर्ने सिर्जनाको ‘आगो’ सधैँका लागि निभेको छ । कलात्मक फिल्मका कट्टर हिमायती सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीको प्यारामाउन्ट हस्पिटलमा निधन भएको दार्जिलिङका गायक दुर्गा खरेलले पुष्टि गरेका छन् । दार्जिलिङबाट इकागजसँग कुरा गर्दै खरेलले सुब्बाको बिहीबार १२ बजे निधन भएको जनाएका छन् । उनले सुब्बाको शव आजै दार्जिलिङ लिएर आउने र शुक्रबार अन्त्येष्टि गर्ने तयारी भइरहेको जनाएका छन् ।
गुरुप्रसाद मैनालीको कथामा आधारित रहेर ‘परालको आगो’ बनाएका प्रताप सुब्बाले यसपछि ‘मसाल’ ‘बाँच्न चाहाने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ निर्देशन गरेका थिए । यी तीनै फिल्म सुब्बाले दार्जिलिङमा रहेर बनाएका थिए । तर फिचर फिल्म निर्देशनमा आउनुअघि सुब्बाको पृष्ठभूमि नाटक थियो र सुब्बाले उसबेला नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’को निर्देशन गरेका थिए । क्यामरा पछाडि रहेर गरेको उनको पहिलो काम भने ‘पोनीब्वाई’ थियो । 
दार्जिलिङको चौरस्तामा घोडामा राखेर पर्यटक घुमाउने चरित्रमा आधारित डकुड्रामामा अभिनेता नीर शाहले शीर्ष चरित्र निर्वाह गरेका थिए । नीर शाहका अनुसार वेस्ट बंगाल सरकारको सहयोगमा बनेको यो फिल्ममा नीर शाहलाई उनले गरेका नाटक देखेर मन पराएपछि कास्ट गरेका थिए । ‘ उसबेला म दार्जिलिङको सेन्ट जोसेफ कलेजमा ब्याचलर गरिरहेको थिएँ । उहाँले मलाई गरिबको चिहान नेपाली  र जजमेन्ट एट न्युरम्बर्क अंग्रेजी नाटकमा देख्नु भएको रहेछ । मन पराएर उहाँले मलाई पानीब्वाईमा ब्रेक दिनु भयो,’नीर शाहले सम्झना गरे । 


नीर शाहसँगको भेटको सम्झना गर्दै गत साल एउटा कार्यक्रममा प्रताप सुब्बाले भनेको थिए ‘ मलाई एक जनाले उहाँको बारेमा भन्यो । ‘नेपालको केटा हो । स्कुलको प्रोग्राममा पनि भाग लिइरहन्छ । एकदमै मेहनतिलो छ ।’ म भेट्न गएँ । सानो फुच्चे हिस्सी परेको राम्रो देखिने । हाँस्दा पनि मीठो मुस्कान । बोलीचाली, स्वभाव सबै मीठो । मैले यस्तो यस्तो छ गर्छौ भनेर भनेपछि गर्छु भन्यो । यसपछि पोनीब्वाई (एयललथ दयथ)  भन्ने फिल्म बनायौँ  । यो डकुमेन्ट्री ३५ को एरिफ्ल्याक्सको क्यामराले खिचेका थियौँ । ब्ल्याक एन्ड ह्वाइट थियो । यो झन्डै सन् १९७२को बेला हो ।

दार्जिलिङमा सुटिङ सकेपछि मैले कलकत्ताको ल्याबमा काम गरेँ । काम गर्ने सबै बंगाली थिए । भाषा बुझ्दिनथेँ । १० मिनेटको डकुमेन्ट्री बनाउन झन्डै एक वर्ष लाग्यो । एक वर्ष लगाएर मैले यो फिल्म बनाइसकेँ । तर, ढिला भए पनि राम्रै भयो । सरकारले पनि मन परायो । यसैले सरकारले मलाई  अर्को  डकुमेन्ट्री बनाउने काम दियो ‘स्प्रिट अफ दि हिल’ नामको । नेपालीमा चैँ मैले यसको नाम ‘देउरालीको माया’ राखेँ । यसमा चैँपहाडले तराईलाई कति माया गर्छ र तराईले पहाडले कति गर्छ भन्ने सन्देश थियो ।’

सुरुमा यसरी दुई डकुमेन्ट्री बनाएपछि प्रताप सुब्बाले ‘परालको आगो’ बनाएका थिए । साहित्यिक कृतिमा बनेमध्ये सबैभन्दा राम्रो कृतिको रुपमा लिइने यो फिल्मपछि सुब्बाले ‘मसाल’ र ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ बनाएका थिए । ‘मसाल’मा उनले मुम्बईमा सुपरहिट ‘एक दुजेके लिए’ खेलेर पनि खासै काम नपाएर बसिरहेका सुनिल थापालाई ब्रेक दिएका थिए । सिक्किम सरकारको लगानीमा बनेको यो फिल्ममा डेनी डेङ्जोपाले पनि अभिनय गरेका थिए । तर यसपछि बनाएको ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ हलमा रिलिज गर्ने बेलामा अनेक लफडा परेपछि सुब्बा दार्जिलिङबाट दिक्क लागेर नेपाल आएका थिए । यो फिल्मलाई कम्युनिस्ट फिल्म भनेर रिलिज गर्न नदिएको उनको गुनासो थियो । 

नेपालमा आएर उनले नेपाल टेलिभिजनका लागि थुप्रै टेलिफिल्म र विज्ञापन बनाए । नेपाल आउँदा उसबेला नेपाल टेलिभिजन भर्खर खुलेको थियो भने टेलिभिजनमा प्रताप सुब्बालाई गुरु मान्ने नीर शाह महाप्रबन्धक थिए । नीर शाहले हार्दिकताका साथ कलात्मक फिल्म बनाउनुस् भनेर हौसला दिएपछि टेलिभिजनका लागि थुप्रै सिरियल बनाएको उनले गत साल एउटा अन्तर्वार्तामा स्मरण गरेका थिए । 

नेपाल फर्केपछि उनले थुप्रै भिडियो फिल्मको निर्देशन गरेका थिए जसमध्ये ‘बन्द पर्दाभित्र’ एक थियो । यो भिडियो फिल्मले राम्रो व्यापार गरेपछि ‘दिदी’को निर्देशन गर्ने अवसर पाएका थिए । नेपालमा रहेर उनले ‘चटयाङ’ र ‘भीष्म प्रतीज्ञा’ गरी थप दुई फिल्म निर्देशन गरेका थिए । ‘दिदी’ सुब्बाको मनपर्ने चलचित्र थियो तर त्यो नचलेपछि हाउडे कथामा ‘चट्याङ’ र ‘भीष्म प्रतीज्ञा’ बनाएको र ती दुवै चलचित्र चलेको उनले बताएका थिए । 

क्यामरा अगाडि नीर शाहलाई पहिलो पटक अभिनय गराउने प्रताप सुब्बाले नीर शाहलाई नेगेटिभ भूमिकाका लागि पहिलो अवार्ड पनि उनैले दिलाएको नीर शाह सम्झना गर्छन् । सुब्बाले निर्देशन गरेको ‘दिदी’ आफूले खेल्ने सम्झौता गरेर छाड्नु परेको तर भीष्म प्रतीज्ञाबाट खलनायकको पहिलो अवार्ड पाएको शाहले बताए ।
‘दिदी मैले साइन गरेर पनि खेल्न पाएको थिइँन । तर भीष्म प्रतीज्ञाबाट मैले जीवनकै पहिलो खलनायकको अवार्ड पाएको थिएँ । मैले जीवनमा अभिनय र निर्देशनका धेरै कुरा उहाँबाटै सिकेको हुँ । मैले मानेको एउटा गुरु उहाँ नै हो,’ शाहले भने । 

तर दार्जिलिङबाट मन भरिएझैँ ‘भीष्म प्रतीज्ञा’को रिलिजपछि नेपालबाट पनि मन अघाएपछि उनले निर्देशन छाडेर प्रशिक्षण गर्ने काम अँगालेका थिए । उनले डाइमन्ड इस्टिच्युट र सिने युनिभर्स खोलेर सयौंलाई फिल्म निर्माणका विभिन्न विधामा प्रशिक्षित गरेका थिए । सुब्बाको सार्वजनिक अन्तिम काम प्रकाश कोविदको उपन्यासमा आधारित ‘देउता’को निर्माण थियो । धेरै पहिला नै सिक्किममा सुटिङ भएको यो टेलिसिरियल महामारीको समयमा युट्युबमा सार्वजनिक भएको छ । उनले यो सिरियल प्रकाश कोविदको आग्रहमा निर्माण गरेको बताएका थिए । 

‘ प्रकाश कोविद बित्नुभन्दा अगाडि ‘प्रताप भाइ, मेरो एउटा कथामा केही गर्दिनुस् न तपाईंले । फिल्महरू बनाइदिनोस् । पहिला मैले बनाएको ‘अर्को जन्म’ सब्बै बिगारिदियो, मत रून मात्र सकिनँ । तपाईंले गरिदिए खुसी हुनेथिएँ’ भनेर मलाई भनिराको थियो । त्यसैले गर्दा मैले ‘देउता’ बनाको ,’उनले भनेका थिए । उनले यो सिरियल डाइमन्ड इन्स्टिच्युटकै विद्यार्थीलाई लिएर बनाएका थिए । 

नीर शाहका अनुसार प्रताप सुब्बाले स्वाध्यायी फिल्म निर्देशक थिए । निर्देशनको मामलामा उनी सत्यजित रे र मृणाल सेनका अनुयायी थिए । तर दार्जिलिङ र नेपाल दुवैतिर कलात्मक फिल्मको माहोल नदेखेपछि सुब्बा निर्देशनबाट टाढिएका थिए ।‘तर उहाँ अन्तिम समयसम्म पनि यो माध्यमप्रति समर्पित हुनुहुन्थ्यो । हिरा सिंह खत्री, प्रकाश थापा र प्रताप सुब्बा मेरा लागि नेपाली सिनेमाका धरोहर हुनुहुन्थ्यो । सुब्बा त्यो पुस्ताको अन्तिम धरोहर हुनुहुन्थ्यो । आज नेपाली चलचित्र क्षेत्रले गुमाएको दिन हो,’ शाहले भने । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x