सिनेमा

दक्षिण भारतका फिल्ममा बलिउड अभिनेत्रीको माग, कसैलाई १० करोड त कसैलाई ५ करोड

इकागज |
चैत २, २०७९ बिहीबार ११:५४ बजे

मुम्बई - ‘बाहुबली’, ‘पुष्पा’ र ‘केजीएफ’को हिन्दी भर्जनको सफलताले दक्षिण भारतका निर्माता थप व्यापारका लागि बलिउड अभिनेता अभिनेत्रीलाई फिल्ममा राख्न थालेका छन् । यसैगरी दक्षिण भारतकै फिल्ममा बलिउड अभिनेत्रीको पनि बेग्लै माग हुन थालेको छ । यसैको फाइदा उठाउँदै बलिउड अभिनेत्रीले आफ्नो पारिश्रमिक तेब्बर बनाएका छन् । 

खबरअनुसार पछिल्लो समय बलिउडका तीन अभिनेत्रीले दक्षिण भारतका तीन फिल्म साइन गरेका छन् । जसमा दीपिका पादुकोनको ‘प्रोजेक्ट के’, जान्हवी कपुरको ‘एनटीआर ३०’ र कियारा आडवानीको ‘आरसी १५’ रहेका छन् । 


प्रभास, अभिताभ बच्चन र दिशा पटानीको समेत मुख्य भूमिका रहेको ‘प्रोजेक्ट के’का लागि दीपिकाले १० करोड रुपैयाँ लिएको चर्चा छ । यसैगरी ‘एनटीआर ३०’बाट दक्षिण भारतमा डेब्यू गर्न लागेकी जान्हवी कपुरले यो फिल्ममा ५ करोड लिएको खबर छ । जुनिएर एनटीआरको मुख्य भूमिका रहने यो फिल्मको  निर्माण टिमले केही दिनअघि उनको फस्टलुक सार्वजनिक गरेको थियो । 

भर्खरै सिद्धार्थ मल्होत्रासँग विवाह गरेकी कियारा आडवानी पनि दक्षिण भारतमा महंगो अभिनेत्रीको दौडमा सामेल भएकी छिन् । तेलगु बुलेटिनका अनुसार कियाराले ‘आरसी १५’का लागि ४ करोड रुपैयाँ लिएकी छिन् ।दक्षिण भारतका अभिनेत्रीले एउटा फिल्ममा काम गरेवापत बढीमा १ करोडदेखि ३ करोडसम्म पाउने गरेका छन् । तर बलिउडका अभिनेत्रीलाई भने निर्माताले तीन गुणा बढी रकम तिरेका छन् । 


Author

थप समाचार
x