सिनेमा

महिला दिवसमा सांग्रिला बुक्स र बुद्ध एयरले बाँडे १७ महिला लेखकका ३५ सय किताब

इकागज |
फागुन २५, २०७९ बिहीबार १२:३५ बजे

काठमाडौँ- मोरङ, उर्लावारी निवासी ६३ वर्षीया तेजकुमारी सुवेदी आफ्नो जीवनकै पहिलो हवाइजहाज यात्रा गर्दै थिइन् । बुद्ध एयरबाट काठमाठौंदेखि विराटनगरसम्मको यात्रा गर्न लागेकी उनले बोर्डिङ पाससँगै एउटा पुस्तक उपहार पाइन् । उनले बोर्डिङ पास दिने कर्मचारीलाई सोधिन्, 'यो किताब के गर्ने हो?' कर्मचारीले जवाफ दिए, 'आज अन्तर्राष्ट्रिय महिला दिवसमा महिला लेखकले लेखेका पुस्तक हामीले हाम्रा यात्रुलाई उपहार दिएका हौं ।' लगत्तै एयरलाइन्सका कर्मचारीले थपे, 'पढ्नोस् है आमा ।' उपहार पाएपछि अनौठो मानेकी उनले भनिन्, 'म आफू त पढ्न जान्दिन बाबु, तर नाति-नातिनाले पढ्छन्, उनीहरुलाई पढेर सुनाउनु भन्छु ।' 

११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सांग्रिला बुक्ससँगको सहकार्यका बुद्ध एयरले यो वर्ष पनि महिला लेखकका पुस्तक आफ्ना यात्रुलाई उपहार दिएको थियो । अघिल्लो वर्षदेखि सुरु गरेको 'नेपाली महिला : पढ्छन् पनि, उड्छन् पनि' अभियानलाई निरन्तरता दिएको बुद्ध एयरले महिला दिवसको शुभकामना दिँदै पुस्तक वितरण गरेको हो । 


काठमाडौंदेखि नेपालगञ्ज जाँदै गरेकी बाँके कोहलपुरकी सचिना श्रेष्ठ बोर्डिङ पाससँगै पुस्तक उपहार पाएपछि खुसी देखिइन् । उनले भनिन्, 'महिला दिवसमा महिला लेखकले नै लेखेको पुस्तक उपहार दिएर हामीलाई रेस्पेक्ट दिएको महसुस भयो, खुसी लाग्यो ।'

काठमाडौंबाट भैरहवा जाँदै गरेका वीगरञ्ज निवासी नितेशकुमार दास पुस्तक उपहार पाएर अचम्मित भएका थिए । जागिरको सिलसिलामा पढ्ने बानी नै छुटिसकेको बताउने उनले आफ्नो हातमा परेको पुस्तक भने पढ्ने वाचा गरे ।  

सांग्रिला बुक्ससँगको सहकार्यमा बुद्ध एयरले ३५ सय यात्रुलाई महिला लेखकका पुस्तक उपहार दिएको हो । १७ जना महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैरआख्यानका पुस्तक निःशुल्क वितरण गरिएको हो ।

अघिल्लो वर्ष काठमाडौंबाट यात्रा गर्ने आफ्ना २५ सय यात्रुलाई महिला लेखकका पुस्तक उपहार दिएको बुद्ध एयरले यो वर्ष काठमाडौंसँगै विराटनगर, जनकपुर, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यात्रा गर्ने यात्रुलाई पनि पुस्तक उपहार दिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिला लेखकका कृति आफ्ना यात्रुलाई उपहार दिँदा अघिल्लो वर्ष यात्रुमा देखिएको खुसीकै कारण यो वर्ष पनि 'नेपाली महिला : पढ्छन् पनि, उड्छन् पनि' अभियानलाई निरन्तरता दिएको बुद्ध एयरले जनाएको छ । पठन संस्कृतिको विकास गर्न र महिला लेखकलाई थप हौसला दिन यो अभियान प्रभावकारी भएको सांग्रिला बुक्सको विश्वास छ ।


Author

थप समाचार
x