सिनेमा

पति शरद विरुद्ध अंश मुद्दा दायर गरेकी निशा भन्छिन् – शरद र म एकअर्कालाई माया र सम्मान गर्छौँ

इकागज |
फागुन २३, २०७९ मगलवार १०:२६ बजे

काठमाडौँ - अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरविरुद्ध अंश मुद्दा दायर गरेको खबरले धेरैलाई चकित तुल्यायो । लामो समयको प्रेमपछि विवाह गरेको निशा र शरदको विवाह भएको आउँदो असारमा ६ वर्ष पूरा हुन्छ । 

तर विवाह भएको केही समयपछि नै शरद र निशाको सम्बन्धमा चिसो सुरु भएको समाचारहरू आउन थालेका थिए । निशा अमेरिका गएर लामो समय एक्लै बसेकी थिइन् भने उहीँ छोरा जन्माएर फर्किएकी थिइन् । 


त्यसयता पनि सम्बन्ध सुधार नभएको संकेत सामाजिक सञ्जालका पोस्टले देखाउँथे । आफू वरिपरिका घटना र मान्छेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहन रुचाउने निशाले शरदसँगका फोटो यदाकदा मात्र हाल्ने गरेकी थिइन् । 

आइतबार भदौमा अंशबण्डा गरी पाउँ भनी निशाले दर्ता गरेको मुद्दामा अदालतले सम्पत्ति फाँटवारी गर्न आदेश दिएपछि दुवैको सम्बन्ध भत्कने संघारमा रहेको खबर सार्वजनिक भएको थियो । मिडियामा आफ्नो समाचार आएपछि निशाले सोमबार  स्ट्याट्स लेख्दै आफू शरदसँगको सम्बन्धलाई लुकाउने र ज्यादा व्याख्या गर्ने दुवै मनस्थितिमा नरहेको बताएकी छिन् । उनले यो आफूहरूको व्यक्तिगत कुरा भएकाले त्यसलाई त्यसरी नै सम्हाल्ने पक्षमा रहेको बताएकी छिन् । 

उनले आफूहरू सक्षम भएकाले यस्ता कुरालाई परिपक्व तरिकाले सम्हाल्न सक्षम भएको र यसै गर्नुपर्नेु पक्षमा रहेको बताएकी छिन् । योसँगै उनले शरद, छोरा युभान र आफूबीच एकअर्कामा सम्मान र मायाको सम्बन्ध रहेको पनि बताएकी छिन् । निशा र शरदको २०७४ असार १६ मा विवाह भएको थियो । दुवैलाई पहिलोपल्ट ‘फिटकिरी’को प्रिमियरमा देखिएको थियो भने यसपछि निशा धेरैपल्ट कीर्तिपुरको क्रिकेट स्टेडियममा देखिने गरेकी थिइन् । 


Author

थप समाचार
x