सिनेमा

के ‘प्रसाद २’ टिमसँग खुसी छैनन् विपिन कार्की ?

इकागज |
फागुन २१, २०७९ आइतवार ११:४ बजे

काठमाडौँ - अभिनेता विपिन कार्की सामाजिक सञ्जालमा सक्रिय भइरहने अभिनेता होइनन् । तर पछिल्लो समय उनले फेसबुक चलाउन थालेका छन् र आफूले खेलेका फिल्मका प्रचार सामाग्री फाट्टफुट्ट सेयर पनि गर्छन् ।

केही हप्ता अघि रिलिज भएको ‘फूलबारी’को समयमा त उनले यो सम्बन्धित सामाग्री बाक्लै सेयर गर्ने गरेका थिए । आफ्नो वास्तविक उमेर भन्दा दोब्बर– तेब्बर बढी उमेरको व्यक्तिको रुपमा अभिनय गरेका उनले ‘फूलबारी’का ठूलै आश पनि राखेका थिए । तर फिल्मले सोचेझैँ व्यापार भने गर्न सकेन । तर फिल्ममा विपिनको प्रयासलाई सबैले रुचाएका थिए । 


‘फूलबारी’पछि विपिनको अर्को महिनाको २४ गते ‘प्रसाद २’ आउँदैछ । केही दिनअघि यसको पोस्टर सार्वजनिक भएको थियो भने दुई दिनअघि ट्रेलर । विपिनको मुख्य भूमिका रहेको ट्रेलर मन परेको भन्दै फिल्म उद्योगका सारा मान्छेले सेयर गरिरहेका छन् । तर सामाजिक सञ्जालमा सेयर गरेका छैनन् त खाली विपिनले । उनले फिल्मको फस्टलुक पनि सेयर गरेका थिएनन् ।

अनेक झन्झट खप्दै सुटिङ सेटमा पुगेको यो फिल्मको पहिलो खेप सुटिङ नै नगरी फर्किएको थियो । उसबेला विपिनले निर्देशकसँग मुडबोर्ड मागेर असहयोग गरेको समाचार आएका थिए । यसबेला निर्माण टिम सुटिङ नै नगरी फर्किएको थियो । 

दोस्रो चोटि भने बिनाकुनै विवाद सुटिङ सकिएको थियो र यो वर्ष भित्रै रिलिज गर्ने गरी फिल्मको प्राविधिक काम पनि सकिन लागेको छ । तर फिल्मकै मुख्य अभिनेता भने फिल्मको उपस्थितिबाट बेखबर छन् । 

विपिन यतिबेला जनकपुरमा ‘भगवत् गीता’को सुटिङ गरिरहेका छन् । फिल्मको सुटिङमा व्यस्त भएकाले सेयर गरेनन् भनौँ भने ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको शुक्रबार नै उनले ‘फूलबारी हेर्नु भयो त’ भन्दै पोस्ट सेयर गरेका छन् । रिलिज भएर उत्रन लागेको फिल्ममा चाहिँ विपिनको चासो देखिन्छ तर रिलिजको संघारमा रहेको फिल्मलाई चाहिँ किन वास्ता नगरेको होला ?  


Author

थप समाचार
x