सिनेमा

थारु चलचित्र निर्माता तथा कलाकार परशुराम चौधरीको निधन

इकागज |
फागुन २०, २०७९ शनिवार १०:१ बजे

कैलाली - थारु चलचित्र निर्माता तथा कलाकार परशुराम चौधरीको निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिनाअघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा शुक्रबार ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा निधन भएको हो । अस्पतालले चौधरीको हृदयघातबाट मृत्यु भएको जनाएको छ । 

चर्चित वृत्त चित्र कमैयामा चौधरीले प्रमुख पात्रका रूपमा भूमिका निर्बाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका थिए । अन्तर्राष्ट्रिय करातेका खेलाडीसमेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।


धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी २०११ युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । स्वर्गीय चौधरीकी आमा, पत्नी र तीन छोरी  छन् ।


Author

थप समाचार
x