सिनेमा

‘ज्याकीः आई एम ट्वान्टी वान’ टिजर : धिरजको नृत्य काैशलको असरदार झलक

इकागज |
फागुन १९, २०७९ शुक्रबार १२:१० बजे

काठमाडौँ- फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ । आउँदो वर्षको वैशाख २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा नायक धिरज मगरलाई मात्र देखाइएको छ ।

टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक युवकले गरेको संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा धिरजको डान्सिङ मुभका झलक देखाइएको छ जसले फिल्मको कथासँगै मुख्य पात्रको सपना र अवरोधलाई प्रष्ट पारेको छ । यी दृश्यमा धिरज सुहाएका छन् । 


फिल्ममा धिरज मगरको साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको अभिनय छ ।

यो फिल्ममा सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ । ​कालिप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत रहेको फिल्मको निर्देशन रेनशा राई रानाले गरेकी हुन् ।

फिल्म ‘आई एम ट्वान्टी वान’ले एक युवाको डान्सको सपनालाई प्रस्तुत गरेको छ । टिजर हेर्दा पनि फिल्मको मेकिङ उच्च देखिएको छ । धिरजले फिल्मका लागि निकै मिहिनेत गरेको प्रष्ट हुन्छ । आईकोर फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण भएको हो । आईकोर फिल्मस्ले निर्माण गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले  बक्स अफिसमा औसत व्यापार गरेको थियो । 

 


Author

थप समाचार
x