सिनेमा

संयोजक नीर शाहसँगै आकाश अधिकारी र सुशान्त श्रेष्ठले पनि दिए बोर्डको सल्लाहकारबाट राजीनामा

इकागज |
माघ २६, २०७९ बिहीबार १०:६ बजे

काठमाडौँ - चलचित्र विकास बोर्डले विना सल्लाह र सुझाव विवादास्पद काम गरिरहेकामा बोर्डका सल्लाहकारसमेत असन्तुष्ट देखिएका छन् । एकपछि अर्को गर्दै सल्लाहकार समितिका सदस्यले राजीनामा दिने क्रम बढिरहेको छ।  केही दिनअघि बोर्डका सल्लाहकार समिति सदस्य  रवीन्द्र खड्काले बोर्डका गतिविधिप्रति असन्तुष्टि जनाउँदै फेसबुकबाटै राजीनामा गरेको घोषणा गरेका थिए । त्यस लगत्तै दीपाश्री निरौलाले पनि विकास बोर्ड अध्यक्ष सामु राजीनामा बुझाइसकेकी छिन् । 

बुधबार भने बोर्डको सल्लाहकार समितिका संयोजक नीर शाहले नै राजीनामा दिएका छन् । उनले समय अभावको कारण देखाउँदै राजीनामा दिएको बेहोरो पत्रमा उल्लेख गरे पनि शाह पछिल्लो समयका बोर्डका गतिविधिप्रति असन्तुष्ट रहँदै आएको खबर थियो । खासगरि बोर्डले सल्लाहकारलाई जानकारी पनि नदिई दुबईमा फेस्टिभल गर्न लागेकोमा सदस्यहरू चकित परेका थिए । 


बुधबार नै समिति सदस्य सुशान्तकुमार श्रेष्ठले पनि राजीनामा बुझाइसकेका छन् । उनले पनि बोर्डको सल्लाहकारको रुपमा कुनै भूमिका नै नभएको महसुस गरी राजीनामा दिएको बताएका छन् । बिहीबार बिहान आकाश अधिकारीले पनि राजीनामा दिने तयारी गरिरहेका छन् । उनले बिहीबार बिहानै बोर्ड अध्यक्षसमक्ष राजीनामा पठाउने तयारी गरिरहेको जानकारी गराएका छन् । बोर्ड अध्यक्ष भएलगत्तै भुवन केसीले दर्जन हाराहारी फिल्मकर्मीलाई सल्लाहकार नियुक्त गरेका थिए । 


Author

थप समाचार
x