सिनेमा

निर्माताको लगानीमा वितरकको मनोमानी, नयाँ वर्षलाई ५ फिल्म

इकागज |
माघ २३, २०७९ सोमबार ११:१ बजे

काठमाडौं- निर्माताको अज्ञानताको फाइदा उठाउँदै वितरकले निर्माता डुबाउने खेल पुरानै हो । वितरकका सपनामा फस्ने निर्माताहरू अन्तिम समयमा फिल्म वितरकलाई सुम्पन्छन् र हलमा चमत्कार हुने अपेक्षा गर्छन् । तर नसोचेका दर्शक हल आउने चमत्कार कहिल्यै हुँदैन् । फिल्म हलबाट उत्रेपछि भने निर्माताको घैँटोमा घाम लाग्छ तर त्यतिन्जेलसम्ममा पैसा स्वाहा भइसकेको हुन्छ । आउँदो नयाँ वर्षमा यस्तै दृश्य देख्न पाइने सम्भावना बढेर गएको छ । आउँदो नयाँ वर्षमा दर्शकका लागि भन्दै निर्माताले ५ वटा फिल्म रिलिज गर्ने घोषणा गरेका छन् । यो क्रमको कान्छो सदस्य बनेको छ, ‘बुलाकी’ ।

दुई चोटि प्रदर्शन मिति सार्दै फागुन १९ लाई प्रदर्शन गर्न ठिक्क परेको सुरक्षा पन्त अभीनित यो फिल्म सरेर वैशाख १ मा आइपुगेको छ । फागुन १९ मा रिलिज हुने ‘छक्का पञ्जा ४’ र ‘छड्के २’बाट भागेको यो फिल्म थप ४ वटा फिल्मसँग जुध्न आइपुगेको छ । नयाँ वर्षका लागि दयाहाङ राई अभीनित ‘बिहे पास’ र ‘जारी’ यो मितिमा आउँदैछन् भने ‘प्रसाद २’ले पनि नयाँ वर्षकै दिन आउने घोषणा गरेको छ । योभन्दा पहिला ‘नाइँ नभन्नू ल ६’ले पनि यही मितिमा प्रदर्शन हुने घोषणा गरिसकेको छ । 


दयाहाङ राईले आफू अभीनित ‘बिहे पास’ र ‘जारी’लाई एकै मितिमा ल्याउन निर्मातालाई अनुमति दिइसकेको खबर छ । नत्र एउटै हिरोको दुइटा फिल्म एउटै मितिमा आउने कल्पना गर्न सकिन्न । दयाहाङले दुवै फिल्मका निर्मातालाई बेग्लाबेग्लै मितिमा आउन मनाउन नसकेपछि ‘हुन्छ’ भनेको स्रोत बताउँछ । 

बाँकी तीन फिल्ममा ‘प्रसाद २’को काम धमाधम भइरहेको छ तर आर्थिक संकटमा बारम्बार फस्दै आएको यो फिल्म त्यो मितिमा आउने नआउने टुंगो छैन । यस्तै ‘नाइँ नभन्नू ल ६’को पनि केही दिनको सुटिङ बाँकी रहेको छ । हलको अहिलेको क्षमताअनुसार दुइटा फिल्मसम्म मज्जाले एउटै मितिमा चल्नसक्ने वितरक तथा प्रदर्शक बताउँछन् । तर विगतका दिनमा यसरी जुधेका फिल्ममा अपवादबाहेक दर्शक आउने गरेका छैनन् । 


Author

थप समाचार
x