सिनेमा

आँचल र पूजासँग नमिलेको कुरा केकीसँग मिल्यो, ‘जय हो’मा केकी फाइनल

इकागज |
माघ २२, २०७९ आइतबार १७:३५ बजे

काठमाडौँ - हिरोइनको खोजीमा रहेका शोभित बस्नेतको खोज केकी अधिकारीमा गएर टुंगिएको छ । बस्नेतले आइतबार केकीसँग सम्झौता गरेको तस्बिर राख्दै फिल्ममा केकीलाई अनुबन्ध गरेको जनाएका हुन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर केकीलाई अनुबन्ध गरेको बताएका हुन् । बस्नेतले आइतबार जन्मदिन मनाइरहेका छन् । 

टेकपौरखी राईले निर्देशन गर्ने फिल्मका लागि निर्माता शोभित बस्नेतले केकी अघि आँचल शर्मा र पूजा शर्मालाई पनि फिल्म अनुबन्ध गर्न चाहेका थिए । आँचलले ‘वर एन्ड वधु’को कारण देखाउँदै फिल्म गर्न नसक्ने जानकारी गराएकी थिइन् भने पूजाले पनि अनमोल केसीसँगको फिल्ममा फोकस गर्ने भन्दै फिल्म गर्न इन्कार गरेकी थिइन् ।


पूजा शोभितको निकतम् सम्बन्ध भएकी अभिनेत्री हुन् । पूजाले निर्माण गर्ने फिल्मको शोभितले कुनै भूमिकामा नै नहुँदा पनि प्रचार प्रसारमा  सहभागी हुने गरेका छन् । फिल्ममा सलोन बस्नेत र अर्पण थापाको पनि अभिनय रहनेछ । फिल्मको संगीत शम्भुजीत बास्कोटाले तयार गरिरहेका छन् । 


Author

थप समाचार
x