सिनेमा

दुबईको फिल्म फेस्टिभल व्यवस्थापक सूर्य कर्पोरेसनको स्पष्टिकरण : भुवन केसी व्यापारिक साझेदार होइनन्, हामीलाई विवादित नलेखियोस्

इकागज |
माघ १७, २०७९ मंगलबार १५:४९ बजे

काठमाडौँ - दुबईमा हुन गइरहेको नेपाल फिल्म फेस्ट, २०२३ को व्यवस्थापन गरिरहेको सूर्य कर्पोेरेसनले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी आफूहरूको व्यापारिक साझेदार नभएको स्पष्ट गरेको छ । कर्पोरेसनले चलचित्र विकास बोर्डले दुई देशमा फिल्म फेस्टिभल गर्ने चाहाना व्यक्त गरेअनुरुप प्रस्ताव पेस गरी व्यवस्थापकको जिम्मेवारी पाएको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

भुवन केसीले निर्माण गर्ने फिल्मको विदेश अधिकार सूर्य कर्पोरेसनले लिएको र यही सम्बन्धका आधारमा भुवन केसीले सूर्य कर्पोरेसनलाई अवार्ड व्यवस्थापकको जिम्मेवारी सुम्पिएको समाचार आएको थियो । सूर्य कर्पोरेसनले यो समाचारको खण्डन गरेको छ । 


चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको फेस्टिभलको व्यवस्थापनको जिम्मेवारी सूर्य कर्पोरेसनले पाएपछि विवाद उत्पन्न भएको थियो । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले छापा मारेको थियो । तर केही समयपछि नै विभागले कम्पनीलाई क्लिन चिट दिएको थियो । कर्पोरेसनले आफ्नो कम्पनी मेनपावर कन्सल्टेन्सी नभई टुर्स एन्ड ट्राभल भएको पनि स्पष्टिकरण दिएको छ । 

कम्पनीले अनुमति नलिई ‘महापुरुष’ फेस्टिभलमा देखाउन लागेकोमा निर्माताको आपत्तिपछि फिल्म हटाइएको पनि जानकारी गराएको छ । ‘महापुरुष’ निर्माताले बोर्डले आयोजना गर्न लागेको फेस्टिभलको औचित्यमाथि प्रश्न उठाउँदै आफूहरू सहभागी नहुने घोषणा गरेको थियो । कर्पोरेसनले विज्ञप्तिमा आफूले सम्बन्धित निकायबाट सफाइ पाइसके पनि समाचारमा विवादित कम्पनीको रुपमा चित्रण गरेकोमा पनि आपत्ति रहेको जनाएको छ । फेस्टिभल फ्रेब्रुअरीको १२ तारिखदेखि दुबईमा सुरु हुँदैछ । 
 

 


Author

थप समाचार
x